Logo

विद्युत प्राधिकरणका कार्यालय संघीय संरचनाअनुसार समायोजन, क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा गाभियो

विद्युत प्राधिकरणका कार्यालय संघीय संरचनाअनुसार समायोजन, क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा गाभियो



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तरगतका क्षेत्रीय कार्यालय र वितरण केन्द्रहरुलाई समायोजन गरेको छ । मुलुक संघीय संरचनामा गएसँगै प्राधिकरणले आफ्ना कार्यालयहरुलाई पनि सोही अनुसार समायोजन गरेको हो ।

क्षेत्रीय कार्यालयहरुको नाम परिवर्तन गरी प्रादेशिक कार्यालय नामाकरण गरिएको छ । ७ वटै प्रदेशमा वितरण तथा ग्राहक सेवाका प्रादेशिक कार्यालय रहने छन् । यसअघि क्षेत्रीय कार्यालयको रुपमा रहेका हैटौडा र नेपालगंजलाई प्रदेश नम्बर ३ र ५ को डिभिजन कार्यालयमा परिणत गरिएको छ । यसअघि प्रदेश नम्बर तीनमा काठमाडौं तथा हेटौडा र प्रदेश नम्बर पाँचमा बुटवल तथा नेपालगंजमा क्षेत्रीय कार्यालय रहेको थियो ।

प्राधिकरण संचालक समितिको १८ पुस २०७५ को ७८३ औं बैठकले क्षेत्रीय कार्यालय र त्यस मातहत रहेका वितरण केन्द्रहरुलाई मुलुकको संघीय संरचनाबमोजिम संचालन र व्यवस्थापन गर्ने निर्णय गरेको थियो । प्राधिकरणले बुधबार परिपत्र जारी गर्दै कार्यालय समायोजन गर्ने निर्णय कार्यान्वयमा ल्याएको हो ।

प्राधिकरणले जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेका उदयपुर, ओखलढुंगा र दिक्तेल वितरण केन्द्रलाई १ नं प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ । हेटौडा क्षेत्रीय कार्यालयअन्तरगत रहेका विरगंज, सिमारा, कलैया, गौर, चन्द्रनिगाहापुर र पोखरिया वितरण केन्द्रलाई २ नं प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ ।

प्रदेश नं ३ काठमाडौं प्रादेशिक कार्यालय र हेटौडा डिभिजन कार्यालय अन्तरगत २० र ६ वितरण केन्द्र राखिएको छ । यसअघि जनकपुर क्षेत्रीय कार्यालय अन्तरगत रहेको सिन्धुली वितरण केन्द्रलाई हेटौडा डिभिजन कार्यालयमा रहने व्यवस्था गरिएको छ ।

गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत १३ वटा वितरण केन्द्रहरु रहने छन् । यसअघि बुटवल क्षेत्रीय कार्यालय मातहतमा रहेको कावासोती वितरण केन्द्रलाई गण्डकी प्रादेशिक कार्यालयमा समायोजन गरेको छ ।

प्रदेश नं ५ को बुटवल प्रादेशिक र नेपालगंज प्रदेश डिभिजन कार्यालय अन्तरगत ११ र १० वितरण केन्द्रहरु रहने छन् । भने कर्णालीको सुर्खेत र सदूरपश्चिमको अत्तरिया प्रादेशिक कार्यालयअन्तरगत १० र १२ वितरण केन्द्रहरु रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL