Logo

काबेली करिडोर प्रसारण लाइन संचालनमा, पोलसम्म लाईन तान्न ड्रोनको प्रयोग

काबेली करिडोर प्रसारण लाइन संचालनमा, पोलसम्म लाईन तान्न ड्रोनको प्रयोग



काठमाडौं । काबेली करिडोर १३२ केभी प्रसारण लाईन संचालनमा आएको छ । पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि निर्माण गरिएको उक्त प्रसारण लाइन सोमबार देखि संचालनमा आएको हो ।
आयोजनाको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्ड सोमबारबाट संचालनमा आएपछि झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण पनि सकिएको छ । तेस्रो खण्ड सोमबार साँझ पौने ६ बजेबाट संचालनमा (चार्ज) आएको हो ।

आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यस अघि नै संचालनमा आइसकेको थियो । लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा थिए । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको बाटो ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘रुग्ण आयोजनामध्येको एउटा काबेली करिडोरको निर्माणबाट प्राधिकरणले धेरै पाठ सिक्यो , राइट अफ वेको समस्या सुल्झाउन व्यत्तिगत रुपमा प्रभावितको घरघरमासमेत गयौं’ उनले भने । ‘स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय लगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौं, अब इलाम, पाँचथर र ताप्लेजुङमा जलविद्युत आयोजना निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको छ ।’

निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा खेर जान नदिन उनीहरुको व्यापारिक उत्पादन सुरु (सिओडी) हुने मितिभन्दा पहिले नै प्रसारण लाइनको निर्माण सम्पन्न भएको उनले उल्लेख गरे । ‘अब प्रवद्र्धकहरुले पनि आयोजनाको निर्माण छिट्टौ सम्पन्न गरी विद्युत जोड्नु पर्छ’,घिसिङले भने ।

राइट अफ वेमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने, रुट परिवर्तन गर्नु लगायतका माग राखी इलामको मंगलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए । कार्यकारी निर्देशक घिसिङ गत वर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरी समस्या समाधान गरेका थिए ।

ड्रोनको प्रयोग

तेस्रो खण्डमा पर्ने अमरपुरको पिनासे घाटमा २.२ किलोमिटर तार तान्न रुख काट्ने प्रक्रिया पूरा गर्न धेरै समय लाग्ने देखिएपछि ड्रोनको प्रयोग गरिएको आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले जानकारी दिए । ‘त्यहाँ चार सयको हाराहारीमा रुख काट्नु पर्ने थियो, यसको स्वीकृतिका लागि प्रक्रिया धेरै लागेर काम नै प्रभावित हुने देख्यौं त्यसैले ३१–३५ नम्बरको टावरमा ड्रोनको प्रयोग गरी तार तान्यौ’,उनले भने ।

लाइन संचालनमा आएको प्रवद्र्धकलाई जानकारी

प्राधिकरणले काबेली करिडोरको तेस्रो खण्ड निर्माण सम्पन्न भई सोमबारबाट संचालनमा आएको जानकारी निजी क्षेत्रका प्रवद्र्धकलाई दिएको छ । उक्त खण्डस्थित अमरपुर सबस्टेसनमा विद्युत जोडिने २५ मेगावाटको काबेली बी १को प्रर्वद्धक अरुण काबेली पावर र ९.९ मेगावाटको इवाखोलाको रैराङ हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लाइन चार्ज भएको मंगलबार जानकारी दिएको हो ।

‘आयोजनाहरुबाट उत्पादित विद्युत् अरपुर सबस्टेसनमार्फत राष्ट्रिय ग्रिड प्रणालीमा जुनसकै बेला जोड्न सकिने जानकारी गराएका छौं’, आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले भने । ३७.६ मेगावाटको काबेली ‘ए’ आयोजनाका विद्युत पनि यही सबस्टेसनमा जोडिने छ । काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिइसकेका छन् । पहिलो खण्डमा करिब ८४ मेगावाट विद्युत यसअघि नै जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL