Logo

माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान, चैतभित्र विद्युत उत्पादन गर्न कुलमानको निर्देशन

माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान, चैतभित्र विद्युत उत्पादन गर्न कुलमानको निर्देशन



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ठाडो सुरुङमा २७ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । स्वदेशी लगानीमा निर्धाणाधीन उक्त ४ सय ५६ मेगावाटको आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मीटर र माथिल्लो ठाडो सुरुङमा ७ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गरिएको हो ।

लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारबाट पेनस्टक पाइप जडान सुरु गरिएको थियो । ३ सय ७२ मिटर लामो तल्लो पेनस्टक साफ्टमा अब ५ मिटर लम्बाइ र २७ टन तौल भएका अब ७० वटा पाइप जडान गर्न बाँकी छ । माथिल्लो पेनस्टक साफ्टको लम्बाई ३ सय १० मिटर हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार निर्माणस्थलको निरीक्षण गरी पछिल्लो पटक तय गरिएको समयतालिकाभित्रै र गुणस्तरमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीहरुलाई निर्देशन दिए ।

‘जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट (७६ मेगावाट) र त्यसपछि बाँकी ५ युनिटबाट असार भित्रमा (आर्थिक वर्ष २०७६÷७७) विद्युत उत्पादन गरी आयोजनाको निर्माण सम्पन्न गर्नु पर्छ’,उनले भने, ‘निर्माण सम्पन्न हुने समय तालिकामा हाम्रो मुख्य चासो हो, त्यसैले यसमा गम्भीर बन्नुहोस्, सगैं भएर निर्माण सम्पन्न गरौं, यसले सबैलाई खुसी बनाउँछ तालिकाअनुसार निर्माण सकेनौं भने सबैलाई तनाव सिर्जना हुन्छ ।’ जनशक्ति बढाएर दिनमा तीन सिफ्टमा काम गर्न पनि उनले ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएका छन ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL