Logo

अब अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र, निकासी ब्यापारमा सहज

अब अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र, निकासी ब्यापारमा सहज



काठमाडौं । अनलाइनबाट उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्यको शुभारम्भ भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रूपमा महासंघ सचिवालयमा उत्पत्तिको प्रमाणपत्रको शुभारम्भ गरेका हुन ।

उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने सम्बन्धमा मन्त्रालय र महासंघबीचको लामो अभ्यास पछि भदौ १ गतेदेखि ललितपुर उद्योग वाणिज्य संघबाट त्यसको सुरुवात गर्ने गरी बुधबार सफ्ट लन्च गरिएको हो । नेपालबाट निकासी हुने वस्तुका लागि जारी हुने उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्य महासंघले विगत ५ दशकभन्दा बढी समयदेखि भारत तथा तेस्रो मुलुकका लागि गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव अधिकारीले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीमा लगेपछि समय, श्रमको बचत हुने व्यवसाय लागतमा समेत कटौती हुन गई व्यापार विस्तारमा सहयोग पुग्ने बताएका छन । उनले अनलाईन प्रणालीबाटमा जाँदा आउने चुनौतीलाई सामना गर्न मन्त्रालयले सहयोग र सहकार्य गर्ने बताएका छन ।

महासंघका अध्यक्ष राणाले अनलाइन प्रणालीबाट जारी भएको उत्पत्तिको प्रमाणपत्र कानूनी रूपमा समेत मान्य हुने बताएकी छिन । जहांसुकै बसेर पनि उत्पत्तिको प्रमाणपत्रको विवरण भर्न तथा जारी गर्न सकिने, मन्त्रालयबाट समेत यसको अनुगमन गर्न र वस्तु निकासीको तथ्याङ्क सहज तरिकाबाट उपलव्ध हुने भएकाले यसको महत्व अझ बढ्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले डिजिटल नेपालको अवधारणालाई अगाडी बढाई सकेको पृष्ठभूमिमा अनलाईनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्थाले सो अवधारणालाई एक कदम अगाडी बढाएको बताएका छन । साथै उनले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइनमा लगेपछि राष्ट्रिय एवं अन्तरराष्ट्रिय रूपमा समेत फाइदा पुग्ने बताएका छन ।

कार्यक्रममा अनलाइन प्रणाली निर्माण कम्पनी मण्डला सिस्टम प्रालिका प्रवन्ध निर्देशक विप्लवमान सिंहले सो प्रणालीको प्रयोग सम्बन्धमा जानकारी गराएका थिए । अनलाइन प्रणालीमा गएपछि महासंघ, उत्पत्तिको प्रमाण पत्र जारी गर्ने निकाय तथा भन्सार कार्यालयबीच सम्पर्क कायम रहने, पेपरलेस हुने भएकाले भन्सार लगायत कार्यालयहरूमा समेत उत्पत्तिको प्रमाण पत्र बुझाइरहन आवश्यकता नहुनेलगायतका जानकारी सजिलै उपलब्ध हुने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL