Logo

कुलेखानीको जलाशय भरिएपछि विद्युतगृह पुर्ण क्षमतामा चलाईयो, भारत बाट हुने आयात घट्यो

कुलेखानीको जलाशय भरिएपछि विद्युतगृह पुर्ण क्षमतामा चलाईयो, भारत बाट हुने आयात घट्यो



काठमाडौं । लगातार वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय असारमै भरिएको छ । उक्त जलाशय भरिएपछि उक्त क्षेत्रका दुवै आयोजना पुर्ण क्षमतामा चलाईएको छ । गत वर्ष भर्षभरिमा जलाशयमा पानीको सतह १ हजार ५ सय २६ मीटर रहेकोमा यस वर्ष सोमबार विहानसम्म मात्रै १ हजार ५ सय २६ मीटर पुगेको हो ।

laxmi

सोमबार बिहान साढे पाँच बजे १ हजार ५ सय २५ दशमलव १७ मीटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १ हजार ५ सय २६ मीटर पुगेको हो । जलाशयमा अधिकतम १ हजार ५ सय ३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन÷चार दिनमै जलाशयमा पानीको सतह करिब २० मीटर बढेको छ ।

जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
‘पानी पर्न भरखर सुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिना अगाडि नै भरियो’,उनले भने । ‘विगतमा वर्खामा कुलेखानी विद्युत्गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारततर्फ विद्युत्को आयातलाई घटाएका छौं ।’

कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमीटर मात्रै घट्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । कुलेखानी वर्खाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत्को अध्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । विद्युत्को आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ ।

प्राधिकरणले अहिले ढक्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट मात्रै करिब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ । अविरल वर्षाका कारण तराईमा विद्युत माग घटेको छ । अहिले मुलुकभरको विद्युत्को माग करिब ६ सय मेगावाट मात्रै छ ।

सतर्क रहन आग्रह


प्राधिकरणले कुलेखानी जलाशय भरिंदै गएका कारणले पानी निकासका लागि बाँधको गेटहरु खोल्नु पर्ने अवस्था आउन सक्ने भएकाले सर्तक रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ । ‘जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौं, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’बाट बाहिर जान्छ’ कार्यकारी निर्देशक घिसिङले भने ।

‘यसो हुँदा पनि पानीको सतह बढेर जलाशयको क्षमताले नभ्याउने भएमा बाँधमा रहेका गेटहर खोलेर पानी बाहिर निकाल्नु पर्ने वाध्यात्मक अवस्था आउन सक्छ, यसबाट बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने बाग्मती नदीमा बाढी आउन सक्ने भएकाले त्यस आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
MBL