Logo

पेट्रोलियम अन्वेषण गर्ने चिनियाँ टोली नेपालमा, अन्वेषणको काम गर्न खानी विभागसँग छलफल सुरु

पेट्रोलियम अन्वेषण गर्ने चिनियाँ टोली नेपालमा, अन्वेषणको काम गर्न खानी विभागसँग छलफल सुरु



काठमाडौं । नेपालमा पेट्रोलियम अन्वेषणका लागि आउने भनिएको चिनियाँ टोली शनिबार नेपाल आईपुगेको छ । गत बैशाखमै आउने भनिएको उक्त टोली २ महिना वितिसक्दा शनिबार मात्रै नेपाल आईपुगेको हो । खानी तथा भुगर्भ विभागको सहकार्यमा दैलेखको पादुका लगायत अन्य सम्भावित क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भावना अध्ययन तथा अन्वेषण गर्ने उक्त टोली आफ्नै आन्तरिक कारणले आउन ढिलाई गरेको बताउँदै आएको थियो ।

आन्तरिक काम टुङ्ग्याएर शनिबार मात्रै भुगर्भविदहरुको एक टोली नेपाल आईपुगेको विभागका उप महानिर्देशक तथा पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन आयोजना प्रमुख सुधिर रजौरेले जानकारी दिए । उनका अनुसार गत बैशाखमा आउने भनेको उक्त टोलीको आन्तरिक कारणले नै आउन ढिलाई भईरहेको थियो ।

यस्तै शनिबार मात्रै नेपाल आईपुगेको उक्त टोलीले पहिलो चरणमा विभिन्न छलफलका कार्यक्रम गरेर काम अगाडी बढाउने तथा योजना बनाउनेछ । उक्त योजना बनाएपश्चात केही दिनमा नै टोलिले पेट्रोलियम अन्वेषणको काम थाल्ने आयोजना प्रमुख रजौरेल बिजखबरलाई जानकारी दिए । उनका अनुसार अन्वेषणको योजना बनाउन खानी तथा भुगर्भ विभागसँग आईतबार नै छलफल सुरु भईसकेको छ ।

हालसम्म नेपालका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको सम्भावना भएको पत्ता लगाइएपनि सोही अनुसार अन्वेषण गर्न भने सकिएको थिएन । विभागले दैलेखको पादुकामा पनि पेट्रोलियम पदार्थको सम्भाव्यता भएकाले अन्वेषण गर्न लागेको हो । २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीमा हस्ताक्षर भएपछि नेपालका सम्भावित खानीहरुको अन्वेषण गर्ने बाटो खुलेको हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उक्त समझदारी भएको थियो ।

यस्तै गत फागुन १६ गते खानी तथा भूगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेबीच चीनमा खानी अन्वेषण कार्यान्वयन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । अन्वेषण गर्ने चिनियाँ टोलीले दैलेख लगायतका अन्य सम्भावित क्षेत्रमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको काम गर्नेछ ।

चिनियाँ टोलीले आगामी ३ बर्षसम्म सम्भावित खानीहरुमा ड्रिलिङ गर्नुका साथै सोही अनुसार आर्थिक रुपमा सम्भाव्य छ छैन या यसको भण्डार कती भनेर पत्ता लगाउने छ । सरकारले गत पुसमा खानी अन्वेषण तथा अध्ययनको सम्झौताका लागि स्वीकृति दिएको थियो ।

मोरङको बाहुनी भन्ने स्थानमा २०४२ मा नेपाल, इटाली, स्विटजरल्याण्ड र नेदरल्याण्ड्सका प्रतिनिधिको सहभागितामा गरिएको अध्ययनले पेट्रोल रहेको पत्ता लगाएको थियो । इटालीको साइपम नामक कम्पनीले ३ हजार ५ सय मिटर बराबरको ड्रिलिङ गरी पेट्रोलियम पदार्थ रहेको पत्ता लगाएको थियो । तर त्यसको पहिचान भएपनि सोही अनुसार हालसम्म काम अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL