Logo

माथिल्लो तामाकोसीको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान, आगामी आर्थिक बर्षदेखि विद्युत उत्पादन

माथिल्लो तामाकोसीको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान, आगामी आर्थिक बर्षदेखि विद्युत उत्पादन



काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका तल्लो ठाडो सुरुङको पेनस्टक पाईप जडान सुरु भएको छ । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन उक्त आयोजनाको जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान भएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङ र प्राधिकरणका संचालकद्धय चेतराज जोशी तथा भक्तबहादुर पुनको उपस्थितिमा पाइप राख्न सुरु गरिएको हो ।

तल्लो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपमा सोमबार अर्को पाइप राखिएको हो । अब त्यसलाई मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कंक्रिट गरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान सुरु हुने छ । तल्लो पेनस्टक साफ्टमा ३ सय ७२ मिटरमा ७४ वटा पेनस्टक पाइप जडान गर्नु पर्ने छ ।

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौलता हटेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘पेनस्टक पाइप जडान ज्यादै गाह्रो थियो, यस अघि जडान सुरु गर्दा क्रेनको डोरी नै चुंडिएको थियो, त्यसपछि क्रेनले काम गर्ने÷नगर्ने लगायतका अन्यौल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्यौता हट्दै आयोजना सम्पन्न हुने दिशातर्फ अगाडि बढेको छ,’उनले भने । ‘पहिलो युनिटबाट (७६ मेगावाट) पुसभित्रमा उत्पादन गर्ने लक्ष्य राखेका र्छौ, यसमा केही तलमाथि हुनसक्ला तर आयोजना आर्थिक वर्ष २०७६/७७ भित्रै निर्माण सम्पन्न हुने छ ।’

उनले क्रेनले ६ मिटर प्रति मिनेटका दरले पाइप झार्ने हुँदा अब कामले गति लिने बताए । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL