Logo

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन, १० मेगावाटको लागि प्रक्रिया अघि बढ्यो

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन, १० मेगावाटको लागि प्रक्रिया अघि बढ्यो



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ ।

एशियाली विकास बैंक (एडिबी) को अनुदानमा सौर्य ऊर्जा जडान गर्न लागिएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाएको प्रमुख अधिकारीले जानकारी दिए ।

एशियाली विकास बैंकका अधिकृत नरेश प्रधानका अनुसार सौर्य ऊर्जा जडानका लागि एडिबीले १ अर्ब अनुदान रकम दिने गरी छलफल अघि बढाइएको छ । ‘१० मेगावाट सौर्य ऊर्जा निकाल्न करीब १ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान छ,’ उनले भने, ‘उक्त रकम अनुदानमा प्राप्त हुनेछ । सोहीअनुसार विद्युत, एडिबी र नागरिक उड्डयन प्राधिकरणबीच छलफल भइसकेका छौं ।’

छिमेकी मुलुक भारतको कोच्चिन अन्तरराष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित छ । चीनको नर्थवेस्ट सिभिल एयरपोर्टमा कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएर काम गरिरहेको विमानस्थल आगमी पुस मसान्तभित्र फुल फेजमा सञ्चालनमा आउने बताइएको छ ।

विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउने कार्यमा एडिबीले ५८ दशमलव ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलब ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य सुरु भएता पनि अहिले एडिबीले ६२ दशमलब ६ प्रतिशत र क्यानको ३७ दशमलब ४ प्रतिशत लागत बेहोरिरहेका छन् ।

नेपाल सरकारले पनि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL