Logo

थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइनमा स्थानीयको अवरोध, ललितपुरमा लोडसेडिङ !

थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइनमा स्थानीयको अवरोध, ललितपुरमा लोडसेडिङ !



काठमाडौं । थानकोट चापागाउँ भक्तपुर प्रसारण लाईनमा स्थानीयले अवरोध खडा गरेका छन । बुधबार उक्त क्षेत्रको अवलोकन गर्न गएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले उक्त क्षेत्रका स्थानीयले अवरोध खडा गरेको जानकारी दिएका हुन ।

laxmi

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको उनको भनाई छ । विद्युत्को माग बढिरहेको तर हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नु पर्ने वाध्यात्मक अवस्था आउन लागेको नेपाल उनको भनाई छ ।

आर्थिक वर्ष २०५५÷०५६बाट सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन् । काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल भएको छैन ।

स्थानीयको अवरोधले निर्माणमा अवरोध हुँदा प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बुधबार आयोजनास्थलको निरीक्षण गरेका हुन । घिसिङले स्थानीयले मुख्य रुपमा अवरोध गरेको खोकना, बुंमती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारण लाइन निर्माण अवस्थाको जानकारी लिएका थिए ।

उनले ललितपुर महानगरपालिका बडा नम्बर २१ खोकनामा ढालिएको २७ नम्बर टावरको पनि निरीक्षण गरेका थिए । स्थानीयले नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर केही दिन अघि ढलेको थियो ।

‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ तर थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकिंदैन’, घिसिङले भने । ‘स्थानीयले प्रसारण लाइन बनाउन दिंदैनन्, खाडा गरिएका टावर ढालिदिन्छन् अनि कसरी काठमाडौं उपत्यकामा विद्युत आपूर्ति दिने ?प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउँदैछ । ’

यो प्रसारण लाइन निर्माण सम्पन्न भएमा काठमाडौं–ललितपुर र भक्तपुरमा १३२ केभीको प्रसारण लाइनको रिङ बन्ने उल्लेख गर्दै उनले यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने बताए । अहिले ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ ।

ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्नु पर्ने, त्यसो नभएमा तारमुनि पर्ने जग्गाको शत्प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिनु पर्ने लगायतका माग राख्दै निर्माणमा अवरोध गरेका हुन् ।

खोकनाका स्थानीयले काठमाडौं–निजगढ फास्ट ट्रयाक, बाहिरी चक्रपथको रुटसँगै र थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन निर्माण गर्नु पर्ने माग गरेका छन् । प्राधिकरणले सबस्टेसन निर्माण हुने हरिसिद्धी र टावर रहने स्थानको जग्गा अधिग्रहण गरिसकेको छ । तर, स्थानीयले अधिग्रहण गरेको जग्गामासमेत काम गर्न दिएका छैनन् ।

प्रसारण तारमुनि पर्ने ९ मिटर दायाँ र ९ मिटर बायाँको अधिकार क्षेत्र (राइट अफ वे)मा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति भने निर्धारण हुने प्रक्रियामा छ । प्राधिकरणले टावर रहने स्थानको जग्गाको शतप्रतिशत र राइट अफ वेमा पर्ने जग्गाको मूल्यांकन गरिएको रकमको १०–२५ प्रतिशतसम्म मुआब्जा दिँदै आएको छ । काठमाडौं र भक्तपुरमा राइट अफ वेमा पर्ने जग्गाका लागि मूल्यांकित रहेको २५ प्रतिशत मुआब्जा वितरण गरिएको थियो ।

प्रसारण लाइन आयोजनाको ललितपुर पर्ने १४ किलोमिटरमा ५१ वटा टावर खडा गरी तार तान्नु पर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । १५ वटा टावर खडा गरिएको छ । तार भने टांगिएको छैन । २८ किलोमिटर प्रसारण लाइन आयोजनाको अनुमानित लागत २ करोड ३० लाख अमेरिकी डलर छ । स्थानीयको अवरोधले काम रोकिएपछि प्राधिकरणले आर्थिक वर्ष ०६६÷६७ मा ठेक्का तोडेको थियो ।

टावर निर्माणका सम्पूर्ण उपकरण पुरानै ठेकेदार कम्पनीले आपूर्ति गरिसकेको आयोजना प्रमुख सुनिल महतोले बताए । उनले अवरोध हटेर काम सुरु भएको ६ महिनाभित्रमा निर्माण सकिने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL