Logo

उद्योग छाडेर व्यापारमा लाग्ने क्रम बढ्यो, उद्योग क्षेत्रको लगानीमा पौने ७२ अर्बले गिरावट

उद्योग छाडेर व्यापारमा लाग्ने क्रम बढ्यो, उद्योग क्षेत्रको लगानीमा पौने ७२ अर्बले गिरावट



काठमाडौं । औद्योगिक क्षेत्रमा लगानी गर्ने क्रम घटेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ८ महिनामा उद्योग क्षेत्रको लगानीमा ७१ अर्ब ८१ करोड रुपैयाँले गिरावट आएको छ ।

laxmi

संख्यात्मक रुपमा उद्योग खुल्ने संख्या बढेपनि लगानीको आधारमा उच्च गिरावट आएको विभागले जानकारी दिएको छ । देशमा दुई तिहाईको स्थायी सरकार गठन भएपनि उद्योगी व्यवसायीहरु अझै पर्ख र हेरको अवस्थामा बसेका कारण यस्तो क्षेत्रमा लगानी घटेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ८ महिनामा ३ सय ४५ उद्योगमा १ खर्ब ८४ अर्ब रुपैयाँको लगानी स्वीकृत भएको छ । यस्तै अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ३ सय ३५ उद्योगमार्फत २ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको लगानी स्विकृत भएको थियो ।

देशमा दुई तिहाईको स्थायी सरकार आएपनि लगानीको वातावरण बन्न नसक्दा उद्योगीहरु व्यापारतर्फ केन्द्रित हुन पुगेको एक उद्योगीले जानकारी दिए । ‘अहिले उद्योग खोल्दा धेरै झण्झट छ भने सोही अनुरुप प्रतिफल पाउन पनि कठिन छ,’ एक उद्योगीले भने, ‘व्यापार गर्न सहज र प्रतिफल पनि बढी भएकाले उद्योगीहरु क्रमश व्यापारतर्फ नै सिफ्ट भैरहेका छन् ।’

पछिल्लो १ बर्षमा वैदेशिक लगानी ८ अर्बले घटेको छ । तथ्याङ्क अनुसार गएको बर्ष २०७५ को अन्तिमसम्म ३१ अर्ब ९७ करोड रुपैयाँ बराबरका उद्योगहरु दर्ता भएका हुन । अघिल्लो बर्ष अर्थात २०७४ मा भने ३९ अर्ब ४३ करोड रुपैयाँ बराबरका उद्योगमार्फत वैदेशिक लगानी भित्रिएको थियो ।

यस्तै आर्थिक बर्षको रुपमा हेर्ने हो भने चालु आर्थिक बर्षमा अघिल्लो आर्थिक बर्षको तुलनामा वैदेशिक लगानी पनि २३ अर्बले घटेको छ । अघिल्लो अर्थिक बर्ष २०७४ ७५ को ८ महिनामा ३५ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता भएकोमा चालु आर्थिक बर्षको सोही अवधिमा भने घट्दै ११ अर्ब ९७ करोड रुपैयाँ मात्रै वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

अघिल्लो आर्थिक बर्ष उद्योगहरुको संख्या भने चालु आर्थिक बर्षको तुलनामा न्युन रहेका छन । चालु आर्थिक बर्षमा २ सय ६८ ओटा उद्योगहरुमा लगानी प्रतिवद्धता आएकोमा अघिल्लो आवमा भने २ सय २९ ओटा उद्योगमा मात्रै लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ ।

चालु आर्थिक बर्षमा चीनले मात्रै विभिन्न १ सय ६ ओटा परियोजनामार्फत २ अर्बको लगानी प्रतिवद्धता जाहेर गरेको छ । यस्तै भारतले ४५ परियोजनामार्फत साढे ५ अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता व्यक्त गरेको छ ।

अघिल्लो बर्षको सोही अवधिमा चीनले विभिन्न ७८ ओटा परियोजनामार्फत २८ अर्ब बराबरको लगानी प्रतिवद्धता गरेको थियो । भारतले भने ३५ परियोजनामार्फत करिव ४ अर्ब रुपैयाँ मात्रै लगानी प्रतिवद्धता गरेको थियो । यस्तै गएको बर्ष स्वदेशी लगानीमा पनि गिरावट आएको देखिन्छ ।

२०७४ मा विभिन्न ४ सय ९० ओटा उद्योगमार्फत २ खर्ब ९४ करोड रुपैयाँको स्वदेशी लगानीको प्रतिवद्धता आएकोमा गएको बर्ष २०७५ मा ५ सय ७ उद्योगमार्फत २ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL