Logo

कुलेखानी तेस्रो र त्रिशूली थ्रिए अन्तिम चरणमा, सुरुङमा पानी भरिँदै

कुलेखानी तेस्रो र त्रिशूली थ्रिए अन्तिम चरणमा, सुरुङमा पानी भरिँदै



काठमाडौं । ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । कुलेखानी तेस्रोको ४ दशमलव २ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण सकिएको र त्रिशूली थ्रि एको करिब ५ किलोमिटर मुख्य सुरुङमा बुधबारबाट पानी हाली परीक्षण सुरु गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार निर्माण अन्तिम चरणमा पुगेसँगै सुरुङमा पानी भर्न थालिएको हो । ‘विभिन्न समस्या झेल्दै रुग्ण बनेका दुई आयोजनाहरु निरन्तरको प्रयासपछि निर्माणको अन्तिम चरणमा पुगी विद्युत उत्पादन गर्ने अवस्थामा पुगेका छन्’,कार्यकारी निर्देशक घिसिङले भने, ‘कुलेखानी तेस्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरेर राखेका छौं, यो आयोजनको महत्पूर्ण माइलस्टोन हो ।’

उनले विद्युत गृहका टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेको बताउँदै असारभन्दा अगाडिनै विद्युत उत्पादनको लक्ष्यका साथ काम भइरहेको जानकारी दिएका छन ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड को लापरबाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्राको निर्माण ढिलाइ भएको हो । विद्युत गृह, सुरुङ लगायतका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनिया“ कम्पनी सिनो हाइड्रोले एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको निर्माण प्रभावित भएको थियो ।

प्रसारण लाइनको तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको आयोजना प्रमुख सुभासकुमार मिश्रले जानकारी दिए । ‘विद्युत गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करिब ५ सय मिटर तार तान्ने काम सकिन्छ, प्रसारण लाइनका कारणले विद्युत उत्पादन प्रभावित हुँदैन’,उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL