Logo

२१ जलविद्युत आयोजना बनाउँदै सरकार, बैशाखदेखि खुल्ने सान्जेनको आईपीओमा ऊर्जा मन्त्रीको १०० कित्ता सेयर

२१ जलविद्युत आयोजना बनाउँदै सरकार, बैशाखदेखि खुल्ने सान्जेनको आईपीओमा ऊर्जा मन्त्रीको १०० कित्ता सेयर



काठमाडौं । सरकारले २१ वटा जलविद्युत आयोजनलाई बास्केटमा राखेर निर्माणकार्य अघि बढाउने भएको छ । यस अघि १९ वटा आयोजना निर्माण गर्ने घोषणा गरेकोमा २ वटा आयोजना थप गर्दै २१ पुर्याउन लागिएको उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले जानकारी दिए ।

सरकारले ठूला आयोजना र तत्काल जनताले प्रतिफल नपाउने आयोजनालाई सुचीबाट हटाउने भएको छ । प्रधानमन्त्री आफैंले पनि जनताको जलविद्युत कार्यक्रममा चासो दिएका र यसमा जनताको पनि राम्रो साथ पाएको मन्त्री पुनले जानकारी दिए । ‘हामीले जनताले चाडै प्रतिफल पाउने आयोजनामा मात्र लगानी गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘लामो समय लाग्ने र जनताले प्रतिफल पाउन धेरै समय कुर्नुपर्ने आयोजना सूचीबाट हटाईनेछ ।’

कार्यक्रममा मन्त्री पुनले माथिल्लो सान्जेन जलविद्युत आयोजनाले आगामी बैशाख ६ गते देखी सर्वसाधरणको लागि निष्काशन गर्न लागेको जानकारी दिँदै त्यसमा आफुले पनि १०० कित्ता सेयरका लागि आवेदन दिने जानकारी दिए । ‘त्रिशुली बी आयोजनामा २० कित्ता मात्रै परे पछि कम्तिमा पनि १०० कित्ता सेयर पुर्याउने उद्देश्यले आवेदन दिन लागेको हुँ,’ उनले भने ।

यसैगरी बन्दै गरेका आयोजनाहरु समयमै सक्न समेत मन्त्री पुनले आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन । उनले भने, ‘विगतमा जसरी काम भए पनि म त्यसलाई किन ढिला भयो भनि भन्दिन तर अबको एक बर्ष भित्रमा सम्पन्न हुने आयोजनाहरु समयमै सकाउनु ।’

प्रत्येक जलविद्युत आयोजना १५ करोड रुपैयाँ प्रति मेगावाट लगानीमा निर्माण हुने भन्दै मन्त्री पुनले भने, ‘मुनाफा सुनिश्चित छ र हुनु पर्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रालयको धारणा रहेको छ ।’

सान्जेन जलविद्युत आयोजनाको सिभिल निर्माणकार्य करिब ८१ प्रतिशत सम्पन्न भईसकेको छ भने कुल भौतिक प्रगति ७७ प्रतिशत सम्पन्न भएको छ । उक्त आयोजना आगामी फागुनमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सान्जेन जलविद्यूत आयोजनाको बिक्री प्रवन्धकमा नागरीक लगानी कोष तथा सह बिक्री प्रवन्धकमा सनराईज क्यापिटल र एनएमबि क्यापिटल रहेको छ । सान्जेन जलविद्यूत आयोजनाले स्थानीयबासीलाई छुट्टै ब्यवस्था गरेकाले सर्वसाधरण सेयरमा भने स्थानीय सहभागि हुने नपाउने आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL