Logo

पाइपलाइन ओछ्याउन ७ किमी मात्रै बाँकी, ३ महिना भित्रै निर्माण सम्पन्न हुने

पाइपलाइन ओछ्याउन ७ किमी मात्रै बाँकी, ३ महिना भित्रै निर्माण सम्पन्न हुने



काठमाडौं । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउन ७ किलोमिटर मात्रै रहेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पाइपलाइन बिछ्याउने ९ किमी मध्ये २ किमी पाईपलाईनको काम सम्पन्न भईसकेको छ । साथै उक्त क्षेत्रका ९ किलोमिटरभित्र पर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको ९ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम भइरहेको छ ।

बाँकी काम तीव्र गतिमा भइरहेकाले सो काम चाँडै सम्पन्न भएपछि भारतबाट पेट्रोल ल्याउने काम सुरु हुने परियोजनाका इञ्जिनियर शरदकुमार पौडयालले बताए । बढीमा ३ महीनाभित्रमा काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने परियोजना कार्यालय सिमराले जानकारी दिएको छ ।

सो क्षेत्रमा ६ हजार ५६३ रुख काटने काम तीव्रगतिमा भइरहेको छ । गत माघ ३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार निकुञ्जभित्रका रुख काट्ने काम सुरु भएको हो । सो रुख काटेबापत नेपाल सरकारले निकुञ्जलाई १ करोड ९५ लाख रुपैयाँ तिर्नुपर्ने छ ।

भारतको मोतिहारीदेखि रकसौल नाका सम्म ३३ दशमलव ७ किलोमिटर भू–भागको काम सम्पन्न भइसकेको भारतीय आयल कर्पोरेशनले जनाएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणको लागि भारत सरकारले ३ करोड ५० लाख भारतीय लगानी गरेको बताइएको छ ।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपि शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्त रुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाईप ओछ्याउने काम अन्तिम चरणमा पुगेको हो ।

विसं २०७२ मा नेपाल भारतबीच भएको द्धिपक्षीय सम्झौता अनुसार भारतीय आयल कर्पोरेशनले सो पाइप निर्माणको कार्य अघि बढाएको छ । पाइपलाइन विछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नको लागि अमलेखगञ्ज आयल निगमको डिपोमा ३९ सय किलोलिटर क्षमता भएको चारवटा ट्याङ्कीको मर्मत सम्भार दू्रतगतिमा भइरहेको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL