Logo

गुलियो चिनीको अमिलो कथा, उद्योगी र किसानका आ–आफ्नै ब्यथा

गुलियो चिनीको अमिलो कथा, उद्योगी र किसानका आ–आफ्नै ब्यथा



काठमाडौं । नेपालमा ऊखु क्रसिङ सुरु भएसँगै चिनी उद्योगी र ऊखु किसानबीच आउने विवाद यस पटक पनि देखिएको छ ।

laxmi

विगतका बर्षमा ऊखु किसान र उद्योगीबीच हुने तीब्र विवाद यस पटक भने सरकारसँग हुने देखिएको छ । ऊखु किसान र उद्योगीले ऊखु क्रसिङका समयमा आफ्ना समस्या मात्र तेस्र्याउन थालेपछि विवाद देखिने भएको हो ।

यस अघिका बर्षमा किसानले माग गरेको मूल्यमा उखु खरिद गर्न नसक्ने माग राख्दै विवाद निकाले चिनी उद्योगीले भने अहिले चिनीको बिक्री मूल्य बढाउन माग गरेका छन् । अहिले चिनीको लाग मूल्य उच्च भएकाले सरकारले निर्धारण गरेको मूल्यमा चिनी बिक्री गर्न नसकिने नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले जानकारी दिए । ‘अहिले हाम्रो चिनीको कारखाना मूल्य नै प्रति किलोग्राम ७७ रुपैयाँ ७४ रुपैयाँ पर्छ,’ उनले भने, ‘कसरी हामीले बजारमा अहिलेको मूल्यमा उपलब्ध गराउन सक्छौं ।’

हाल चिनीको उत्पादन लागत नै प्रतिकेजी ६४ रुपैयाँ ३० पैैसा पर्ने र त्यसमा उद्योगीले लिने ७ प्रतिशत मुनाफा र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) जोड्दा चिनीको कारखाना मूल्य ७७ रुपैयाँभन्दा बढी पर्ने छ ।

अहिलेको मूल्यमा सरकारले चिनीमा कम्तीमा पनि प्रतिकेजी २० रुपैयाँ मूल्य बढाउनु पर्ने उद्योगीहरुको माग छ । कुनै पनि भान्सामा नुनभन्दा पनि चिनी एकदमै कम खपत हुने भएकाले चिनीमा प्रतिकेजी २० रुपैयाँ मूल्य वृद्धि गर्दा पनि उपभोक्तालाई धेरै भार नपर्ने अग्रवालले जानकारी दिए ।

केही समयअघि सरकारले आयातित चिनीबाट नेपाली उद्योगहरु मारमा परेको भन्दै मौजुदा भन्सारदरलाई दोब्बरले वृद्धि गर्दै चिनी आयातमा समेत प्रतिबन्ध लगाएको थियो । हाल उद्योगीहरुले चिनीको परिमाणात्म आयातलाई कायम राख्दै अहिले भएको भन्सार महशुल दोब्बरले वृद्धि गर्दै ६० प्रतिशत पुर्याउन माग खारेका छन् । साथै भ्याटले गर्दा चिनीको मूल्य बढी पर्न गएको भन्दै चिनीमा भ्याट हटाउन समेत उद्योगहरुको माग छ ।

चोरी पैठारीको मारमा नेपाली उद्योग


व्यवसायीहरुले भारतीबाट आयात हुने चिनीसँग नेपाली उद्योगबाट उत्पादिन हुने चिनीले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । अहिले भारतबाट नेपालमा प्रतिकेजी चिनी ५५ रुपैयाँमा आयात हुँदै आएको छ । तर, नेपाली चिनीको उत्पादन लागत नै ६४ रुपैयाँ ३० पैसा पर्ने भएकाले भारतबाट आयात हुने चिनीसँग नेपाली चिनीले मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने अग्रवालले जानकारी दिए । सरकारले चिनी आयातमा प्रतिबन्ध लगाएपनि पछिल्लो समय खुला सिमानाको फाइदा लिँदै व्यवसायीहरुले भारतबाट दैनिक ८ देखि १० ट्रक चिनी आयात गरेको र त्यस्ता चिनीले गर्दा नेपाली उद्योगीहरु मारमा परेको उनको गुनासो थियो ।

चिनी बिक्री नगरी किसानलाई भुक्तानी दिन नसकिने

उद्योगीहरुले कारखानाबाट उत्पादन भएको चिनी बिक्री नभएसम्म किसानलाई भुक्तानी दिन नसकिने बताएका छन् । सोही अनुसार यस पटकको ऊखु क्रसिङ्को सिजनमा चिनी बिक्री भएको अनुपातको आधारमा मात्र भुक्तानी दिने गरी ऊखु किसानसँग सम्झौत गरिएको चिनी उद्योग संघका महासचिव राजेश केडियाले जानकारी दिए । ‘हामीले ऊखु किसानसँग पुस २५ गते चिनी बिक्रीको अनुपातको आधारमा भुक्तानी दिनेगरी सम्झौता गरेका हौं,’ उनले भने, ‘त्यसलाई कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन हेर्न बाँकी छ ।’

किसानको ८० करोड भुक्तानी हुन बाँकी

हाल ऊखु किसानले ऊखु बिक्री गरे वापत सरकारले दिनपर्ने नगद अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले ऊखु किसानलाई प्रति क्विन्टल ६५ रुपैयाँ सम्बन्धित कृषकलाई नै भुक्तानी दिने बताएपनि हालसम्म कृषकले ८० करोड रुपैयाँभन्दा बढी रकम पाउन सकेका छैनन् । सरकारसँग नगद अनुदान लिने प्रक्रिया एकदमै झन्झटिलो भएकाले समयमै अनुदान रकम पाउन नसकिएको ऊखु किसानहरुको गुनासो रहेको छ ।

ऊखु किसानले सरकारसँग ऊखु बिक्री गरेवापतको नगद अनुदान दिन आफुले उत्पादन गरको ऊखुको परिमाण सहित सम्बधित जग्गाको लालपूर्जा पेश गर्नुपर्ने हुन्छ । तर, ५० प्रतिशत ऊखु किसाको जग्गाधनी लालपूर्जा नभएकाले हालसम्म नगद अनुदान वापतको रकम पाउन सकेका छ्रैनन् । धेरै जसो किसानले आफ्नो जग्गा बैंक वा साहु कहाँ धितो राखेर ऋण लिएका कारण पेश गर्न सकेका छैनन भने कतिपयले नदिले कटान गरेका अ‍ैलानी जग्गामा ऊखु लगाएकाले नगद अनुदान पाउनका लागि प्रोसेस समेत गर्न पाएका छैनन । अबका दिनमा किसानले उत्पादनहरुको ऊखुको परिमाणको आधारमा भुक्तानी गरिदिन समेत उनीहरुले समरकारसँग आग्रह गरेका छन् । साथै यस अघि सहमती गरेपनि चिनी उद्योगीले बिक्रीको अनुपातमा दिने भनेको भुक्तानीको सम्बन्धमा पनि असन्तुष्टी जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL