Logo

चिनियाँ ठेकेदारले काम नगरेपछि न्यू खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेक्का तोडियो, मे मा अर्को ठेक्का सम्झौता हुने

चिनियाँ ठेकेदारले काम नगरेपछि न्यू खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेक्का तोडियो, मे मा अर्को ठेक्का सम्झौता हुने



काठमाडौं । चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तरर्गतको पहिलो खण्डको ठेक्का नेपाल विद्युत प्राधिकरणले तोडेको छ ।

प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँगको तामाकोशी–काठमाडौ प्रसारण लाइन अन्तरर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिन अघि तोडेको हो ।

प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिएका छन ।

प्राधिकरणले कम्पनीसँग ११ असोज ०७३ मा भएको सम्झौता अनुसार १२ जेठ ०७६ मा निर्माण सम्पन्न गर्ने गरी १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको प्रसारण लाइनको कामलाई तिब्रता दिन ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिएका थिए । तर,कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय सकिँदा समेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि अघिनै ठेक्का तोडिएको आयोजनाले जानकारी दिएको छ ।

‘ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिंदा करिब ८ प्रतिशत मात्रै भौतिक प्रगति गरेको र दिएको निर्देशन समेत पालना नगरेकाले प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का तोडिएको हो’, ओझाले भने ।

कम्पनीले सम्झौतामा समय तालिकासहित उल्लेख भएका टावरको डिजाइन, नक्सांकन, जग हाल्ने तथा जडान गर्ने, कन्टक्टर, इन्सुलेटर जस्ता उपकरणको उत्पादन, आपूर्ति तथा जडान गर्ने लगायतका काम नगरे पछि सो सम्झौता तोडिएको हो ।

ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि ठेण्डर आहन भइसकेको आयोजना प्रमुख ओझाले जानकारी दिएका छन । उनका अनुसार, आगामी मे महिना भित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको २७ महिना भित्रमा निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको बताए । आयोजना नेपाल सरकार र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो ।

कम्पनीले सिन्धुपाल्चोको बाह्रबिसेमा २२०÷१३२ केभी सबस्टेसन बनाउने ठेक्का पाएको थियो तर सबस्टेसनको काम पनि सन्तोषजनक नभएको आयोजनाले जानकारी दिएको छ । ताकेता गर्दासमेत सम्झौताको तालिक अनुसार अहिलेसम्म मुख्य काम नै नगरेको आयोजना प्रमुख ओझाको भनाई रहेको छ ।

प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२० मा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

खिम्ती र तामाकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोशी–काठमाडौ उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

रामेछापको खिम्तीमा बन्न लागेको सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाई ४४ किलोमिटर छ । बाह्रबिसे–काठमाडौं खण्डको ठेक्का भने लार्सन एण्ड टर्वो (एलएण्टी) ले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL