Logo

चिलिमेका लगानीकर्तालाई २५ प्रतिशत लाभांश, यस्ता छन नगद र बोनसको अनुपात

चिलिमेका लगानीकर्तालाई २५ प्रतिशत लाभांश, यस्ता छन नगद र बोनसको अनुपात


रासस
0
Shares

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत सेयर लाभांश दिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश दिएको थियो ।

सञ्चालक समितिको उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

कम्पनीले रसुवामा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यस्तै सोही कम्पनीका सहायक कम्पनीले अन्य ४ आयोजना निर्माण गरिरहेको छन् । ती आयोजनामा माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र मध्यभोटेकोशी रहेका छन् ।

यस्तै नेपाल स्टक एक्सचेञ्जले बुधबार मञ्जुश्री फाइनान्स लिमिटेडको कारोवारमा रोक लगाएको छ । केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले कारोवारमा रोक लगाइएको स्टकले जानकारी दिएको छ । यस्तै स्टकले आजै कर्पोरेट डेभलपमेन्ट बैंकको कारोवार खुल्ला गरेको छ ।

स्टकमा बुधबार सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत सेयर लाभांश दिने घोषणा गरेसँगै सेयर मूल्य २ सय १२ रुपैयाँ हुने गरी समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य २ सय ५५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL