Logo

मध्यभोटेकोशीको आईपिओ आजदेखि खुल्यो, यी ठाउँबाट दिन पाईन्छ आवेदन

मध्यभोटेकोशीको आईपिओ आजदेखि खुल्यो, यी ठाउँबाट दिन पाईन्छ आवेदन



काठमाडौं ।  मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आजदेखि साधारण सेयर (आईपिओ) बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि १ अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित आइपिओ बिक्री सुरु गरेको हो ।

कम्पनीले पहिलो चरणमा १ सय अङ्कित दरका १ करोड ४४ लाख कित्ता साधारण सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता सेयर बिक्री सुरु गरेको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १ सय २ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी ६ अर्ब रहेको छ । कम्पनीको सेयरमा यही कात्तिक २८ गते बुधबारदेखि आगामी मङ्सिर १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस्तै संस्थापक सङ्गठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले आगामी मङ्सिर १८ गतेदेखि २६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको सेयरमा सञ्चयकर्ताले न्यूनतम ५० र अधिकतम ५ सय कित्तासम्म आवेदन दिन पाउनेछन् भने कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम १ हजार २ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्वमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनीलगायत रहेका छन् ।

कम्पनीमा प्राधिकरणको १० प्रतिशत, चिलिमेको ३७ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको समान १÷१ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहमा कोषका सञ्चयकर्ताको १९ दशमलव ५ संस्थापक सङ्गठित संस्थाका कर्मचारीको तीन दशमलव पाँच, ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयवासीको १० प्रतिशत र आम सर्वसाधारणको १५ प्रतिशत शेयर रहने गरी छ्ट्याइएको छ ।

कम्पनीको सेयरको आवेदन भने ग्लोबल आइएमइ क्यापिल, प्रभु क्यापिटल, एनआइविएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिविआएल क्यापिटल बाट दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL