Logo

४२ मेवाको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द, विरोधमा उत्रिए स्थानीय

४२ मेवाको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द, विरोधमा उत्रिए स्थानीय


रासस
0
Shares

काठमाडौं । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका स्थानीय बासिन्दाले उक्त आयोजना बन्द गराएका हुन ।

सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम स्थानीयले ठप्प पारेका हुन ।

आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिए । नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने ठाउँमा सुरुङको आउटलेटबाट निस्किएको पानी सुरक्षित रुपमा व्यवस्थापन नगरिँदा पहिरो गएर सात घरधुरीको खेतीयोग्य जमीन पुरिएको छ ।

पाइपमार्फत पानीको सुरक्षित व्यवस्थापन, पहिरो नियन्त्रण र जग्गा तथा वातावरण संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको मागलाई आयोजनाले बेवास्ता गरेकाले बाध्य भएर काम बन्द गराउनु परेको पुनल बताए ।

वडाध्यक्ष चन्द्रप्रकाश फगामीले स्थानीयवासीको माग सम्बोधन गराउन पहल गरे पनि आयोजनाका प्रतिनिधिले बेवास्ता गरेकाले समस्या भएको जानकारी दिए ।

आयोजनाको सुरुङ निर्माणका क्रममा खानेपानीका मुहान सुकेको स्थानीयवासीले बताएका छन् । पानी निस्किएपछि आयोजनाको सुरुङ निर्माणको कामसमेत प्रभावित बनेको छ । सन् २०१६ को जुन १३ देखि निर्माण शुरु भएको आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, पेनस्टक पाइप जडानको काम ६० प्रतिशतभन्दा बढी सकिएको जनाइएको छ ।

नारच्याङको नीलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध, २ हजार २ सय ८८ मिटर सुरुङ, एक हजार ५ सय मिटर पेनस्टक पाइप र बेँशीगाउँस्थित कालीगण्डकीको बायाँ किनारमा विद्युतगृह रहेको छ । नारच्याङ बेँशीगाउँदेखि बाँधसम्मपुग्ने ६ किलोमिटर सडक र ३ वटा बेलिब्रिज निर्माण गरेको छ । आयोजनाको ५ अर्ब ६४ करोड लागत अनुमान गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL