Logo

अन्तरराष्ट्रिय ब्यापारमा भारतसँगको निर्भरता तोडियो, नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने

अन्तरराष्ट्रिय ब्यापारमा भारतसँगको निर्भरता तोडियो, नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने



काठमाडौं । नेपाल र चीनबीच पारवहन तथा ब्यापार प्रोटेकल सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंमा बुधबारदेखि सुरु भएको नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको प्रोटोकल (कार्यविधी) सम्बन्धी छलफलको दोस्रो दिन राती उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार चिनियाँ पक्षले नेपाललाई सबै बन्दरगाह र त्यहाँसम्मको सहज रुट प्रयोग गर्न दिने भएको छ । प्रोटोकलमा १५ वटा आर्टिकलहरू रहेको दुई दिनसम्म भएको वार्तामा सबै टुङ्गो लागेको हो ।

चीनमा ३४ ओटा मुख्य बन्दरगाह र दुई हजारभन्दा बढी साना बन्दरगाह सञ्चालनमा छन । जसमध्ये नेपालाई पायक र सजिलो पर्ने बन्दरगाह संचालनका लागि चीनले सहमति गरेको हो ।

बिहीबार राती दुई पक्षबीच भएको सम्झौता अनुसार विशेषगरी नेपालले तेस्रो मुलुकबाट सामान आयात तथा निर्यात गर्दा आफुलाई पायक पर्ने त्यान्जान, झियानझिङ, सेन्जेन, झाङजिङलगायतका सामुन्द्रिक बन्दरगाह र लानझाउ, लासा, सिङगटेलगायतका सुख्खा बन्दरगाहक प्रयोग गर्ने भएको छ ।

दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा दुई देशबीच पारवहन तथा व्यापार सम्झौता भएको थियो । गत असारमा प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा उक्त सम्झौता कार्यान्वयन गर्ने कार्यविधिमा हस्ताक्षर हुने भनिए पनि पर्याप्त तयारी नपुगेको भन्दै आगामी असोज १५ गतेभित्र यसलाई टुङ्ग्याउने सहमति भएको थियो । सोही सहमति अनुसार आज दुई देशका प्रतिनिधधिबीच सम्झौता भएको हो ।

बैठकमा १० सदस्यीय नेपाली टोलीको नेतृत्व उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सैंजुले गरेका थिए । त्यस्तै परराष्ट्रमन्त्रालयका सहसचिव सुशील लम्साललगायतका प्रतिनिधिहरु सहभागी थिए । यसगरी उक्त बैंठकमा चिनियाँ पक्षको ११ सदस्यीय टोलीको सहभागिता रहेको थियो । जसको नेतृत्व त्यहाँका यातायात विभागका महानिर्देशकले गरेका छन् ।

नेपालले चीनको बन्दरगाह उपयोग गर्न पाएसँगै तेस्रो मुलुकको ढुवानी खर्च कम हुने अपेक्षा गरिएको छ । खासगरी दक्षिण कोरिया, जापान र ती देशको नजिकका देशबाट सामान ल्याउँदा नेपाललाई सहज हुनेछ । उक्त सम्झौतासँगै सामान आयात तथा निर्यातमा भारतसँगको मात्र निर्भरता पनि तोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL