Logo

विद्युत चुहावट नियन्त्रणमा कुलमानको सफलता, चुहावट नियन्त्रणबाट ४ अर्ब फाइदा

विद्युत चुहावट नियन्त्रणमा कुलमानको सफलता, चुहावट नियन्त्रणबाट ४ अर्ब फाइदा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट नियन्त्रण बाट मात्रै आर्थिक बर्ष २०७४÷७५ मा ४ अर्ब रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले गत आवको आर्थिक परीक्षण गर्दै उक्त बराबरको रकम विद्युत चुहावट बाट आम्दानी भएको प्रक्षेपण गरेको हो ।

यसका साथै प्रधिकरणले गत आवमा १ अर्ब १ करोड बराबरको खुद नाफा आर्जन गरेको छ । उक्त खुद नाफा गत आबको लेखा परिक्षणको अन्तिम रुपमा भने यो रकम अझै बढ्न सक्ने प्रक्षेपण गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने बताए । गत आवमा प्राधिकरणको संचालन मुनाफा ७ अर्ब ८६ करोड रुपैयाँ छ । यसमा अन्य वित्तीय खर्चहरु कटौती गरेपछि खुद मुनाफा आउँछ ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

गत वार्षिक उत्सवमा आव २०७३÷७४ को प्राधिकरणको खूद नोक्सानी ९७ करोड ८९ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएकोमा अन्तिम लेखा परीक्षणपछि खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ देखिएको थियो । प्राधिकरणको संचित नोक्सानी अझै २८ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

‘प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करिब २ अर्ब ५० करोड रुपैयाँ हुने प्रक्षेपण गरेको थियौं,तर प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘मैले जिम्मेवारी सम्हाल्दा संस्था ८ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा थियो, प्रधानमन्त्री, ऊर्जा मन्त्री, उर्जा सचिव, संचालक समितिसहित नेपाल सरकारका विभिन्न निकाय, आम उपभोक्ता, प्राधिकरणका कर्मचारी लगायत सबैको निरन्तर सहयोगबाट गतवर्ष पनि संस्था नाफामा गएको हो, तर हामीले सोचेजति सफलता हासिल गर्न भने अझै सकिरहेको अवस्था छैन ।’

उनले चालु आर्थिक वर्षमा प्राधिकरणले आफैंले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रीए र सहायक कम्पनीमार्फत निर्माण भइरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले विद्युत उत्पादन थाल्ने भएकाले प्राधिकरणको आम्दानी झनै बढ्ने बताए ।

‘ती आयोजना आएपछि हामीले सहायक कम्पनीमार्फत निर्माण गर्ने जलविद्युत आयोजनामा लगानीका लागि सरकारमाथि भर पर्नु पर्दैन प्राधिकरण आफैंले लगानी गर्न सक्छ,’घिसिङले थपे ।

प्राधिकरणले आव ०७३÷७४मा विद्युतबिक्री र व्याज लगायतबाट ५१ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेकोमा आव ०७४÷७५मा यसलाई बढाएर ६० अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ ।

लोडसेडिङ अन्त्य र आफ्नो स्वामित्वमा रहेका विद्युत गृहको कुशलतापूर्वक सञ्चालनले प्राधिकरणको आम्दानी बढेकोे हो । लोडसेडिङ अन्त्य हुँदा सहरी क्षेत्रका ठूला ग्राहस्थ्र्य तथा व्यापारिक र औद्योगिक ग्राहकतर्फको आम्दानी बढेको छ ।

भारतबाट विद्युत आयातमा लिइएको विवेकपूर्ण रणनीतिक नीतिकाकारण ढल्केवरबाट खरिद गरिएको विद्युतको महशुल केही बृद्धि भएता पनिआयातित विद्युतको औसत खरिद दर भने बढेको छैन । आव ०७४÷७५को विद्युत औसत आयात दर ७ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्राधिकरणको उपभोक्ता औसत महसुल दर प्रतियुनिट १० रुपैयाँ ४ पैसा छ । गत आवमा २ अर्ब ५८ करोड युनिट विद्युत आयात भएको थियो । आव २०७३÷७४मा २ अर्ब १७ करोड युनिट आयात गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

जलवायु परिवर्तनका कारण गत आवमा खोला तथा नदीनालामा पानीको वहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत गृहबाट गत वर्ष करिब २० प्रतिशत उत्पादन घट्दासमेत विद्युत आपूर्ति भने बढेको हो । ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना सञ्चालनमा आएका कारण विद्युत आपूर्ति बढेको हो ।

विद्युत चुहावट इतिहासमै कम

विद्युत प्राधिकरण गत आवमा विद्युत चुहावट नियन्त्रणको लक्ष्य पूरा गर्न सफल भएको छ । प्राधिकरणले गत आवमा प्रणालीमा रहेको २२ दशमलव ९० प्रतिशत विद्युत चुहावटलाई २० दशमलव ५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । गत आवमा विद्युत चुहावट २० दशमलव ४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सवैभन्दा कम चुहावट हो ।

जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमश करिव ५ दशमलव ५ प्रतिशत र करिव १४ दशमलव ५प्रतिशत रहेको छ । चालू आवमा विद्युत चुहावटलाई १८ दशमलव ५प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । ‘तर हाम्रो कोशिश १५ प्रतिशतमा कायम गर्ने रहने छ,’ घिसिङले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL