Logo

क्रस होल्डिङ भएका बीमा कम्पनीलाई ‘फोर्सफुल्ली’ मर्जर, क्यापिटल प्लान कुर्दै बीमा समिति

क्रस होल्डिङ भएका बीमा कम्पनीलाई ‘फोर्सफुल्ली’ मर्जर, क्यापिटल प्लान कुर्दै बीमा समिति



काठमाडौं । बीमा समितिले क्रस होल्डिङ भएका बीमा कम्पनीहरुलाई फोर्सफुल्ली मर्जरमा लैजाने भएको छ । एउटै व्यक्तिले ३÷४ वटा बीमा कम्पनीको सेयर होल्डिङ गरेको हुन सक्ने भएकाले त्यस्ता कम्पनीको छानविन गरी फोर्सफुल्ली मर्जरमा लैजाने तयारी गरेको बीमा समितिले जानकारी दिएको छ ।

बीमा समितिले यही असार अन्तिमसम्ममा बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब र २ अर्ब पुर्याउन निर्देशन दिएको थियो । जसमा निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने हुन्छ ।

नेपालमा जीवन र निर्जिवन बीमा कम्पनीगरी ३८ वटा बीमा कम्पनी संचालनमा रहेपनि हालसम्म ४ वटा कम्पनीले मात्र तोकिएको पूँजी पुर्याएको छ । हालसम्म निर्जीवनतर्फ हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले मात्र बीमा समितिले निर्देशन दिए बमोजिम १ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । यस्तै जीवन बीमातर्फ नेपाल लाईफ इन्स्यारेन्सले तोकिएको पूँजी पुर्याएको छ ।

हाल सबै बीमा कम्पनीले पूँजी बृद्धि योजना पेश गर्ने क्रममा रहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जानकारी दिए । ‘हामीले तोकेको समय सकिन अझै १ हप्ता बाँकी छ,’ उनले भने, ‘सो अबधिसम्म बीमा कम्पनीहरुले कस्तो योजना पेश गर्छन सोही अनुरुप पूँजी बृद्धिका लागि थप कदम चाल्ने छौं ।’

समितिले बीमा कम्पनीहरुलाई ३/३ महिना गरी दुई पटकसम्म म्यादथप गर्न सक्ने समेत उनले जानकारी दिए । ‘हाम्रो नियम अनुसार पनि बढिमा दुई पटकसम्म गरी ६ महिनाको म्याद थप गर्न सक्छौं,’ उनले भने, ‘सो अबधिसम्म बीमा कम्पनीहरुले कसरी पूँजी बृद्धि गर्छन सोही अनुरुप फोर्सफुल्ली मर्जर वा अन्य विकल्प खोज्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL