Logo

त्रिशूली–गल्छी आयोजनामा चीनको पौने ११ अर्व लगानी, प्रधानमन्त्रीको भ्रमणमा भयो सम्झौता

त्रिशूली–गल्छी आयोजनामा चीनको पौने ११ अर्व लगानी, प्रधानमन्त्रीको भ्रमणमा भयो सम्झौता


रासस
0
Shares

काठमाडौं । ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ ।

चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८ सय ७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धी गत बुधबार समझदारी तथा सम्झौता भएको थियो । सोहिअनुसार नुवाकोट र धादिङमा निर्माण गर्न लागिएको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा आगामी अक्टुबर देखि शुरु हुने भएको हो ।

त्रिशूली नदीस्थित नुवाकोटको तार्केश्वर गाउँपालिका–४ ढोडबँेसीमा बाँधस्थल र धादिङको गल्छी गाउँपालिका–१ हाँडीखोलाटारमा उत्पादन गृह हुनेगरी निर्माण गर्न लागिएको सो आयोजनाको यसअघि नै सिद्धकाली पावर कम्पनीले चिनियाँ लगानीकर्तासँग प्रारम्भिक सम्झौता गरिसकेको थियो । उक्त सम्झौताको आधारमा चिनियाँ कम्पनी दोङफाङ इलेक्ट्रिक कर्पोरेशनले परियोजना निर्माण सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।

उक्त आयोजनाका लागि इञ्जिनियरिङ, खरिद निर्माण र वित्तीय व्यवस्थापन (इपिसि–एफ) ढाँचामा निर्माण गर्ने सम्बन्धी सम्झौता दोङफाङसँग गत चैत १४ गते हस्ताक्षर भएको त्रिशूली–गल्छी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत राजु पण्डितले जानकारी दिए ।
‘आयोजना निर्माणको काम विसं २०७३ कात्तिक १७ मा विद्युत् उत्पादन अनुमति पत्र पाएलगत्तै शुरु गरे पनि वित्तीय व्यवस्थापनले रोकिएकाले अब त्यो पनि सहज भएपछि आगामी अक्टुबरदेखि काम शुरु हुनेभएको छ ।’ पण्डितले भने, ।

उनका अनुसार उक्त आयोजना सम्पन्न गर्न लाग्नेमध्ये १० अर्ब ८१ करोड रुपैयाँ चिनियाँ कम्पनीले लगानी गर्ने भएको हो । आयोजनाको विद्युत् उत्पादन शुरु भएको एक वर्ष्भित्र आयोजनाको प्रवद्र्धक सिद्धकाली कम्पनीले लक्ष्मी बैंकसँगको सहकार्यमा चिनियाँ कम्पनीलाई ४ प्रतिशत ब्याजसहित लगानी फिर्ता गर्ने सहमति छ ।
आयोजनाको कूल लागत १४ अर्ब ४० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनमा प्रक्षेपण गरिएको छ ।
उनले आयोजनाको काम सम्झौता भएलगत्तै शुरु गर्न लागिए पनि त्रिशूली नदीमा पानीको मात्रा बर्खायाममा उच्च भएकाले बहाव कम भएपछि अक्टुबरदेखि कामलाई तीव्रता दिन लागिएको जानकारी दिए ।
आयोजना निर्माण सम्बन्धी चीनमा भएको सम्झौतामा चीन भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिद्धकाली पावर कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङफाङका प्रतिनिधिले हस्ताक्षर गरेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL