Logo

क्यापासिटर बैंक नराख्ने उद्योगको विजुली कट, प्राधिकरणले दियो अल्टिमेटम

क्यापासिटर बैंक नराख्ने उद्योगको विजुली कट, प्राधिकरणले दियो अल्टिमेटम



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ‘क्यापासिटर’ बैंक नराख्ने उद्योगको लाईन काट्ने भएको छ । धेरै उद्योगले क्यापासिटर बैक नराखेको फेला परेपछि निश्चित समय दिएर उनीहरुलाई अनिवार्यरुपमा राख्न लगाउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘ठूला–ठूला उद्योगले नै क्यापासिटर बैक नराखी दिएपछि अहिले मुख्यगरी तराईका जिल्लामा भोल्टेजको कारण लाइन ट्रिप हुने, विद्युतीय उपकरण नचल्ने लगायतका समस्या देखिएका छन,’ उनले भने, ‘तोकिएको समयभित्र पनि क्यापासिटर बैंक नराखेका त्यस्ता उद्योगको लाईन नै काट्ने छौं ।’ प्राधिकरणले हामीले दिएको समयमा राखेनन भने विनियमावलीमा भएको व्यवस्थाअनुसार लाइन काट्ने घिसिङ्ले जानकारी दिए ।

उद्योगले क्यापासिटर बैक नराख्दा तराईका जिल्लामा विद्युत आपूर्तिमा भोल्टेजको समस्या देखिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणालीबाट आपूर्ति हुने विद्युतमा भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगको विद्युत लोडको मागलाई सन्तुलन राखी नियमित विद्युत प्रवाहका लागि क्यापासिटर बैक अनिवार्य राख्नुपर्छ । तर, अनुगमनका क्रममा धेरै जसो उद्योगले त्यस्तो मिटर नराखेको पाईएपछि निश्चित सयम दिएर कारबाही प्रक्रिया अघि बढाउन लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको विद्युत बितरण विनियमावली–२०६९ले ५ हर्स पावरभन्दा बढी क्षमताको विद्युत मोटर वा वेल्डिङ मेसिन भएका ग्राहकले अनिवार्यरुपमा क्यापासिटर बैक राख्नु पर्ने व्यवस्था गरेको छ । तर, विनियमाली विपरित अधिकांश उद्योगले क्यापासिटर बैक राखेका छैनन् । जसले गर्दा उद्योग स्वयं र आमउपभोक्ताले विद्युत आपूर्तिमा भोल्टेजको समस्या व्यहोरिरहेका छन् ।

क्यापासिटर बैक नहुँदा न्यून भोल्टेजको कारणले लाईन ट्रिप भई विद्युत आपूर्तिमा समस्या हुने गर्छ, जसको मारमा आम उपभोक्ता पर्छन् । यसबाट प्राधिकरणले अनियमित विद्युत आपूर्तिको आरोप मात्रै खेपिरहेको छैन, प्राविधिक चुहावट पनि बढिरहेको छ ।

प्राधिकरणको प्राविधिक टोलीले पूर्वका १ सय ४० उद्योगको स्थलगत निरीक्षण गर्दा ४३ वटा उद्योगले मात्रै क्यापासिटर बैक राखेको फेला पारेको थियो । क्यापासिटर बैंक राखेका अधिकांश उद्योगले पनि आवश्यकता र तोकिएको मापदण्ड अनुसारको नराखेको पत्ता लागेको छ । प्राधिकरणले मुलुकभरका बितरण केन्द्रलाई क्यापासिटर बैक नराख्ने उद्योगको विवरण संकलन गरी पठाउन परिपत्र गरिसकेको छ ।

भारतमा गर्मी बढेका कारण भोल्टेज ड्रप हुँदा त्यहाँबाट आयात भइरहेको विद्युत झनै कम भोल्टेजको रहँदा प्रणालीमा समस्या देखिएको छ । नेपालको तराई क्षेत्रमा प्रचण्ड गर्मीको कारण फ्यान तथा एसी चल्ने हुंदा गर्मी मयमा भोल्टेज ड्रपको समस्या अझ बढ्छ । यसकै कारण वुटवल, विराटनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायतका सहरी क्षेत्रमा कम भोल्टेजले गर्दा समय समयमा विद्युत आपूर्तिमा समस्या देखिएको छ ।

भोल्टेजको समस्या समाधानका लागि ऊर्जा दक्षता कार्यक्रम अन्तर्गत विद्युत माग बढी हुने क्षेत्रमा ट्रान्सफर्मर थप्ने, जीर्णअवस्थामा रहेका ट्रान्सफर्मर फेर्ने तथामर्मतसम्भार गर्ने, नयाँ सब स्टेसन थप्ने, बितरण लाइन सुधार गर्नेलगायतका काम उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको घिसिङले जानकारी दिए । साथै प्राधिकरणले अहिले उद्योगलाई अनिवार्यरुपमा क्यापासिटर बैक राख्न लगाउने,‘अन लोड ट्याप चेन्जर’ जडित ट्रान्सफर्मर रहेका सब स्टेसन थप्ने, सव स्टेसन तथा बितरण ट्रान्सफर्मरमा क्यापासिटर बैक राख्ने, नयाँ प्रसारण लाइनबनाउने, नीजि उत्पादकहरुलाई संझौतानुसारको र्याक्टिभ पावर सप्लाई गर्न लगाउने लगायतका काम अगाडि बढाइरहेको छ । प्राधिकरणले क्षेत्रीय सन्तुलन रहने गरी जलविद्युत आयोजनाहरु निर्माण गर्ने दीर्घकालिन योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL