Logo

उद्योगका लागि छुट्टै प्रसारणलाईनबाट विद्युत, सवस्टेशन निर्माण गर्दै प्राधिकरण

उद्योगका लागि छुट्टै प्रसारणलाईनबाट विद्युत, सवस्टेशन निर्माण गर्दै प्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरण ले अब औद्योगिक क्षेत्र र करिडोरका लागि १ सय ३२ केभी डबल सर्किट लाइनमार्फत विद्युत उपलब्ध गराउने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताको प्रसारण लाइन बनाउने भएको हो । प्राधिकरणले हाल औद्योगिक क्षेत्रमा ३३ केभी प्रसारण लाइनबाट मात्रै विद्युत आपुर्ति गर्दै आएको छ ।

यसका लागि औद्योगिक तथा विशेष आर्थिक क्षेत्र स्थापना हुने सम्भावित सुनसरी, सिराहा, धनुषा, मकवानपुर, चितवन,नवलपरासी,रुपन्देही लगायतका जिल्लामा उच्च क्षमताका प्रसारण लाइन तथा सब स्टेसन निर्माण चरणमा छन ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा प्राधिकरणले औद्योगिक क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या समाधान गर्न काम सुरु गरेको हो ।

उक्त कार्यका लागि सब स्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सब स्टेसन बनाउने लगायतका काम भइरहको छ । सरकारले पनि सिमेन्ट उद्योगमा लगानी आकर्षित गर्न उद्योगसम्म सडक र विद्युत आपूर्तिका लागि पूर्वाधार बनाउने घोषणा गरिसकेको छ ।

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी लगायतका जलविद्युत आयोजनाको निर्माणसम्पन्न भएपछि आन्तरिक उत्पादनबाटै विद्युत आपूर्ति पुग्ने र उत्पादित विद्युत खपत गर्न नसकी खेर जान नदिन योजनाका साथ लागेको प्राधिकरणले जानकारी दिएको छ । अहिले प्रसारण तथा सब स्टेसनको क्षमताले नधान्ने भएकाले प्राधिकरणले मागअनुसार उद्योगलाई विद्युत दिन कठिन भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार, आइतबार, सोमबार र मंगलबार ती जिल्लामा निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेसन आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

‘जनकपुर, हेटौडा, चितवन, भैरहवा लगायतका क्षेत्रमा रहेका उद्योग तथा आगामी दिनमा विस्तार हुन सक्ने उद्योग र विशेष आर्थिक क्षेत्रलाई ध्यान दिएर ती क्षेत्रमा १३२ केभीको प्रसारण लाइनको रिङ नै बनाउने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘यस्तो पूर्वाधार तयार भएपछि एकतर्फ मागअनुसारको विद्युत आपूर्ति गर्न सक्छौं भने अर्कोतर्फ ट्रिपिङ हुने लगायतका समस्या समाधान गरी नियमित विद्युत आपूर्ति हुन्छ ।’

नवलपरासी र रुपन्देहीमा सञ्चालनमा रहेका र खुल्न सक्ने उद्योगलाई ध्यान दिएर प्राधिकरणले प्रसारण लाइन तथा सव स्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले चिनियाँ लगानीमा संचालन हुन लागेको होङसी शिवम् सिमेन्टलाई विद्युत आपूर्तिका लागि नवलपरासीको बर्दघाटबाट सर्दीसम्म १३२ केभीको डबल सर्किट प्रसारण लाइन बनाउन सुरु गरिसकेको पनि जानकारी दिएको छ ।

यसैगरि, नवलपरासीको बडेरामा नेपाल भारतबीच विद्युत व्यापारका लागि बन्न लागेको दोस्रो क्रस बोर्डर प्रसारण लाइन, कालिगण्डकी करिडोर प्रसारण लाइनका लागि २५ विघामा क्रमश : ४ सय ४०/२ सय २० र २ सय २०/१ सय ३२ सव स्टेसन निर्माण सुरु भइसकेको छ । यसबाट भैरहवा क्षेत्रमा स्थापना हुने उद्योगलाई विद्युत आपूर्ति गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL