Logo

ऊर्जा क्षेत्र विकासका लागि सरकारले ल्यायो श्वेतपत्र, हरेक प्रदेशमा ठूला आयोजना (पूर्णपाठ सहित)

ऊर्जा क्षेत्र विकासका लागि सरकारले ल्यायो श्वेतपत्र, हरेक प्रदेशमा ठूला आयोजना (पूर्णपाठ सहित)



काठमाडौं । सरकारले देशको ऊर्जा क्षेत्र विकासका लागि श्वेतपत्र जारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले देशको समग्र ऊर्जा तथा जलस्रोतको विकास गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहितको श्वेतपत्र जारी गरेका हुन् ।

देशको संघीय संरचना एवं प्रदेश तथा स्थानीय तहलाई आर्थिकरूपले सक्षम र समुन्नत बनाउँन ऊर्जालाई प्रमुख प्राथमिकता दिईने उक्त श्वेतपत्रमा उल्ले छ । यसैगरी श्वेतपत्र जारी गर्दै मन्त्री पुनले प्रदेश तथा स्थानीय तहलाई आर्थिकरूपले सक्षम बनाउन ‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’ योजना ल्याएका छन् । जसअन्तरगत हरेक प्रदेशमा एउटा ठूलो जलविद्युत तथा सौर्य आयोजनाको निर्माण गर्ने लक्ष्य लिएको छ ।

हरेक प्रदेशमा आयोजना निर्माण गर्न हाल अध्ययन भइरहेका वा अध्ययनको चरणमा रहेका आयोजना छनोट गरिएको छ । जसअनुसार प्रदेश १ मा ७ सय ६२ मेगावाटको तमोर जलाशय, ८ सय मेगावाटको दूधकोसी, लगायत ३ हजार ७ सय ८८ मेगावाटका आयोजना पहिचान गरिएको छ । यस्तै प्रदेश २ मा सबैभन्दा कम २ सय मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गर्ने श्वेतपत्रमा उल्लेख छ । यस्तै प्रदेश ३ मा २ हजार ३ सय ५८ मेगावाट छनौट गरिएको छ भने प्रदेश ४ मा २ हजार ३ सय ४८ मेगावाटका जलाशय आयोजना छनोट गरिएको छ ।

यस्तै प्रदेश ५ मा १ हजार ४ सय ६८ मेगावाट, प्रदेश ६ मा ९ सय ३६ मेगावाट र प्रदेश ७ मा १ हजार २ सय ३६ मेगावाट जलविुद्युत आयोजना छनौट गरिएको छ । श्वेतपत्रको सूचीमा परेका आयोजनामध्येबाट अध्ययन भइसकेको वा अध्ययनको अन्तिम चरणमा रहेका आयोजना सकभर चालैनै निर्माणमा लगिने मन्त्रालयले जानकारी दिएको छ ।

श्वेतपत्रले आर्थिक समृद्धिमार्फत राष्ट्रिय एकता सुदृढ गर्न ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ कार्यक्रम सञ्चालन गर्ने रणनीति अघि बढाएको छ । साथै उक्त श्वेतपत्रले सरकारले अघि सारेको सम्बृद्ध नेपाल सुखी नेपालीको नारालाई समेत साकार पार्न सहयोग गर्ने श्वेतपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL