Logo

सिंहदरबारमा आजदेखि सौर्य बत्ती, चीनको ६० करोड सहयोग

सिंहदरबारमा आजदेखि सौर्य बत्ती, चीनको ६० करोड सहयोग


रासस
0
Shares

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ ।

चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ । करीब ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ सोलार बत्ती नेपाल विद्युत प्राधिकरणको ग्रिडमा जोडिनेछ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सौर्य प्रणाली मुलुकको आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण परियोजना भएको र यस्ता आयोजनालाई अन्य क्षेत्रमा पनि विस्तार गर्न सके समृद्धिको यात्रामा सहयोग सिद्ध हुने विश्वास व्यक्त गरे । साथै नेपालजस्तो भौगोलिक विविधतायुक्त मुलुकमा सौर्य ऊर्जा प्रणाली अति उपयोगी र सान्दर्भिक हुने भन्दै यसलाई समृद्धिको आधारका रुपमा अघि बढाइनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले मुलुक राजनीतिक संक्रमण व्यवस्थापन गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै समृद्धिको यस अभियानमा अधिक उद्योग स्थापना र रोजगारी सिर्जना गर्न तथा पूर्वाधार विकास, सम्पर्क सञ्चाल विस्तारका निम्ति सरकारको ध्यान केन्द्रित भएको बताए । ‘दोहोरो अंकको आर्थिक वृद्धि र परिणाम देखिने गरी देशको विकास गरेर जनतालाई अनुभूत गराउँछौँ त्यसका लागि हाम्रा काम कारवाहीलाई तीव्र गतिमा अघि बढाउन जरुरी हुन्छ’, उनले भने । साथै चीनसँगको सदियौँदेखिको पारस्परिक सम्बन्धलाई थप उचाइमा पुर्याई आपसी हितका साझा कार्यक्रमलाई समन्वयात्मक ढङ्गले अघि बढाइने प्रधानमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा चिनियाँ राजदूत यु होङले विकास र समृद्धिका लागि दुई देशबीच लामो समयदेखि समन्वयात्मक सहकार्य रहँदै आएको र त्यसको पछिल्लो उदाहरण सौर्य ऊर्जा महत्वपूर्ण परियोजना भएको बताइन् । चीन विश्व अर्थतन्त्रको शक्तिशाली मुलुक भएको र पर्यटनको हिसाबले पनि अथाह सम्भावना रहेको भन्दै उनले नेपालको आर्थिक विकासका लागि नयाँ सम्भावनाका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको सुनाइन ।

यसअघि उक्त परियोजना चीन सरकारको तर्फबाट नेपालको ऊर्जा मन्त्रालयलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो । ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपालका लागि चिनियाँ राजदूतावासका इकोनोमिक काउन्सिलर वाइ पिङले सम्पन्न परियोजनामा हस्ताक्षर गरेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL