Logo

५३ मेवाको मध्य कालीगण्डकी निर्माण हुंदै, लागत अनुमान १२ अर्ब

५३ मेवाको मध्य कालीगण्डकी निर्माण हुंदै, लागत अनुमान १२ अर्ब


रासस
0
Shares

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

हाइड्रो सपोर्ट प्रालि काठमाडौँले कालीगण्डकी नदीमा आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङकन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा बाँध रहने आयोजनाको विद्युतगृह सोही पालिकाको २ नम्बर वडामा पर्ने ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको आयोजनाले जानकारी दिएको छ । ४ हजार १ सय मिटर सुरुङ रहने आयोजनाको विद्युतगृहदेखि फोरबेको उचाइ १ सय १५ मिटर रहने छ । प्रतिवेदन तयार पारेर स्वीकृत भएपछि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरी विद्युत विकास विभागले पूर्वाधार निर्माणको अनुमति दिने प्रक्रिया रहेको छ । लगानीको स्रोत जुटाएर आगामी डेढ वर्षभित्रमा पूर्वाधार निर्माणको चरणमा प्रवेश गर्ने तयारी भएको आयोजनाका प्रमुख चन्द्र ढकालले बताएका छन ।

ढकालले करीब १२ अर्ब रुपैंया लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकको रुपमा लगानीका लागि प्रभावित क्षेत्रका लगानीकर्तालाई समेत आग्रह गरेका छन । प्रभावित क्षेत्रका बासिन्दालाई पब्लिक शेयरको समेत सुविधा दिइने भएको छ ।

कालीगण्डकी किनारमा अवस्थित पर्यटकीय महत्वको तातोपानी कुण्डलाई असर नपुग्ने गरी आयोजना निर्माण गर्न स्थानीयले सुझाव दिएका वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिएका छन ।

भूगर्भविद्ले गरेको अध्ययन अनुसार जलविद्युत आयोजना बनाउँदा तातोपानीको मुहानलाई असर नगर्ने जानकारी गराइएको थियो । अन्नपूर्ण गाउँपालिकामा हाल पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन ।

४ नम्बर वडामा पर्ने नारच्याङमा ४२ मेगावाटको नीलगिरि र ६२ मेगावाटको नीलगिरि क्यासकेट जलविद्युत आयोजना निर्माणका लागि सडक निर्माणको काम भइरहेको छ । ३ नम्बर वडा दानामा सव स्टेशन र त्यहाँदेखि पर्वतको कुश्मासम्म विद्युत प्रशारण लाइन निर्माणको काम तीव्ररुपमा अघि बढेको छ । प्रशारण लाइन र सवस्टेशन निर्माणसँगै आयोजना निर्माण कार्यले तीव्रता पाएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL