Logo

काबेली नबन्दा मारमा उद्यमी, खेर जाँदै ५७ मेगावाट विद्युत

काबेली नबन्दा मारमा उद्यमी, खेर जाँदै ५७ मेगावाट विद्युत


बिजखबर संवाददाता
27
Shares

– रमेश लम्साल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा ५७ मेगावाट विद्युत खेर जाने भएको छ । समयमै कावेली करिडोर प्रशारणलाईन निर्मान नहुँदा विद्युत उत्पादनको तयारीमा रहेका ३ वटा आयोजना समस्यामा पर्ने भएका छन् ।

२०७४ को चैत मसान्तसम्ममा कूल ५७ मेगावाट क्षमताका ३ आयोजना सम्पन्न हुने चरणमा छन् । तर प्राधिकरणले प्रसारण लाइन निर्माणको काममा चासो नदेखाएको र निर्माण व्यवसायीलाई प्रभावकारीरुपमा काम लगाउन नसक्दा विद्युत खेर जाने अवस्था आएको उद्यमीहरुको गुनासो छ ।

झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म ९० किमी लामो उक्त प्रसारण लाइन तीन खण्डमा बाँडेर निर्माण शुरु गरिएको थियो । पहिलो खण्ड गोदक–दमक सञ्चालनमा छ भने दुईवटा खण्ड हाल निर्माणाधीन छ ।

आर्थिक वर्ष २०६२/६३ देखि शुरु भएको सो प्रसारण लाइन सम्पन्न हुन सकेको छैन । जग्गाको मुआब्जा वितरण, वनको स्वीकृतिलगायत समस्याले प्रसारण लाइनको निर्माण अवरुद्ध छ । सो करिडोरमा हाल २५ मेगावाट क्षमताको काबेली ‘बी’ एक, माउण्टेन हाइड्रोले प्रवद्र्धन गरेको २२ मेगावाटको तल्लो हेवाखोला र रैराङ हाइड्रोपावरले निर्माण गरेको १० मेगावाटको इवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको छ । ती आयोजनाबाट कूल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

काबेली ‘बी’ एकको लगानी ४ अर्ब ३० करोड रुपैयाँ, तल्लो हेवाको लगानी ४ अर्ब रुपैयाँ तथा इवा खोलाको लगानी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । काबेली ‘बी’ एकको करिब ९८ प्रतिशत काम सम्पन्न भएको र चैत सम्ममा संचालन हुने सो आयोजनाका प्रमुख रमेशप्रसाद पोखरेलले बताए । साथै प्रसारण लाइनको अभावमा विद्युत खेर जाने अवस्था सिर्जना भएको उनको गुनासो छ ।
प्राधिकरणले १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइन निर्माण गर्न नसक्दा समस्या भएको उनी बताउँछन् । तर काबेली करिडोर निर्माणको जिम्मा लिएको भारतको एस्टर एण्ड ज्यागुरले निर्माण कार्यलाई प्राथमिकतामा नराखेको निजी ऊर्जा उद्यमीले गुनासो गरेका छन् । उनीहरुले प्राधिकरणले ठेकेदारलाई प्रभावकारीरुपमा काममा लगाउन नसकेकामा आपत्ति जनाएका छन् ।

काबेली ‘बी’ एक आयोजना अरुण काबेली जलविद्युत् आयोजनाले निर्माण गरेको आयोजना हो । सो आयोजनाका प्रमुख पोखरेलले प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा समस्या परेको जानकारी दिए । पेनस्टक पाइप र मेशिन जडानको काम भइरहेको छ भने आयोजना निर्माण सम्पन्न हुन लागे पनि प्रसारण लाइनको अभावमा समस्या भएको छ ।

कूल २२ मेगावाट क्षमताको तल्लो हेवा खोला निर्माण सम्पन्न हुने चरणमा छ । सो आयोजना आगामी चैतको अन्तिमसम्म निर्माण सम्पन्न हुने आयोजना प्रमुख गणेश सुब्बाले जानकारी दिए । स्थानीय थापाटारमा रहेको प्राधिकरणको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भए पनि प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । निजी ऊर्जा उद्यमीले प्राधिकरणले प्रसारण लाइन निर्माणमा सधैँ समस्या मात्रै देखाउने र समस्या समाधानमा चासो नदेखाएको गुनासो गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले प्राधिकरणले ध्यान नदिँदा निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजना समस्यामा परेको बताए । निर्माण व्यवसायीलाई काम गराउन नसक्नुको कारण खोजी गर्न र निजी ऊर्जा उद्यमीले पनि थप सहजीकरण गरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने अध्यक्ष गुरागाईको भनाइ छ ।

निजी उद्यमीले पटक पटक प्राधिकरणलाई छिटो प्रसारण लाइन बनाइदिन आग्रह गरेको भए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । तर प्राधिकरणले भने प्रसारण लाइन निर्माणको काम भइरहेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले समस्या सहजीकरण गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले आवश्यक निर्देशन दिइसकेको जानकारी दिए । प्राधिकरणले स्थानीय प्रशासनले काममा सहयोग नगरेको गुनासो गरेको छ ।

प्रसारण लाइनको ‘राइट अफ बे’मा पर्ने जग्गाको मुआब्जा वितरणमा स्थानीयवासीले चित्त बुझाएका छैनन् । जसका कारण २२ वटा टावर निर्माणमा समस्या पैदा भएको छ । प्राधिकरणले पाँचथरका प्रमुख जिल्ला अधिकारीसँग जग्गाको मुआब्जाको विषयमा देखिएको समस्या समाधान गरिदिन आग्रह गरिसकेको छ । तर काम किन शुरु हुन नसकेको हो सो बारेमा प्राधिकरणले स्पष्ट जानकारी दिन सकेको छैन/रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL