Logo

चमेलिया जलविद्युत आयोजना २ महिनाभित्र सञ्चालनमा, राष्ट्रिय प्रशारणमा ३० मेवा बिजुली थपिने

चमेलिया जलविद्युत आयोजना २ महिनाभित्र सञ्चालनमा, राष्ट्रिय प्रशारणमा ३० मेवा बिजुली थपिने


रक्षा रेग्मी
27
Shares

काठमाडौं । चमेलिया जलविद्युत आयोेजना आगामी २ महिनाभित्र सञ्चालनमा आउने भएको छ । दार्चुला जिल्लाको बंलाचमा निर्माणाधिन सो जलविद्युत आयोजनाको सुरुङ ‘स्क्विजिङ’ समस्या समाधान भएसँगै विद्युत उत्पादन शुरु गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘खुम्चिएको सुरुङ खुलाउने काम अन्तिम अवस्थामा पुगेको छ,’ उनले भने, ‘आगामी २ महिनाभित्र समस्या समाधान गरी विद्युत उत्पादनको सुनिश्चितता गरिएको छ ।’

३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाको केही समय अघि उर्जामन्त्री महेन्द्रबहादुर शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको एक टोली आयोजना निर्माणस्थलमा पुगेर अनुगमन गरेको थियो । डेढ महिनाभित्र आयोजना आंशिक सञ्चालनमा र दुई महिनासम्ममा पूर्णरुपमा सञ्चालनमा आउने घिसिङले जानकारी दिए ।

सो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ । कम्पनीले हालै जलाशययुक्त आयोजना बुढिगण्डकीको निर्माणको जिम्मा समेत पाएको छ । चमेलिया आयोजनाको ट्रान्समिसन लाइन निर्माणकार्य समेत सम्पन्न भइसकेको छ ।

घिसिङका अनुसार बाँकी सिभिलतर्फको काम सेप्टेम्बर भित्रै सकिने छ । सिभिलतर्फको काम सकिएपछि इलेक्ट्रोमेकानिकलको काम सुरु गरिने भएको छ । निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो ।

संसदको सार्वजनिक लेखा समितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको आशंकामा बीचैमा काम रोक्न निर्देशन दिएपछि आयोजनाको निर्माण १ बर्ष रोकिएको थियो । सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो । आयोजनाको कुल ६ सय ११ मिटर सुरुङ खनेकोमध्ये २ सय ३२ मिटर खुम्चिएको थियो ।

त्यस्तै ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो । सुरुमा ०६८ वैशाखमा काम सक्ने लक्ष्य राखिएको आयोजनाको काम लक्ष्यभन्दा साढे ६ वर्ष ढिला सकिन लागेको हो । सुरुमा साढे ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत यो आयोजनाको कुल लागत अहिले १५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । आयोजनाले आगामी डिसेम्बरमा यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना बनाएको छ

प्रतिक्रिया दिनुहोस्
MBL