Logo

महानगरले थाल्यो औपचारिक रुपमा फोहोरबाट बिजुली उत्पादन

महानगरले थाल्यो औपचारिक रुपमा फोहोरबाट बिजुली उत्पादन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिले मंगलबारदेखि औपचारिक रुपमा फोहोरबाट बिजुली उत्पादन शुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र युरोपियन युनियनको नेपालका लागि राजदूत रेन्सजे टिरिंकले बायोग्यास प्लान्टको संयुक्त रुपमा उद्घाटन गरी बिजुली उत्पादन शुरु गरिएको हो । लामो समयको परिक्षणपछि आजदेखि विद्युत उत्पादन शुरु गरिएको हो ।

एकिकृत दिगो फोहोरमैला व्यवस्थापन परियोजना अन्तर्गत महानगरभित्रको जैबिक फोहोरबाट बिजुली निकाल्न शुरु गरिएको छ । युरोपियन युनियनको ८० प्रतिशत र महानगरको २० प्रतिशत लागानीमा सो काम सम्पन्न भएको हो ।

सो परियोजना अन्तरगत दैनिक ३ मेट्रिक टन जैबिक फोहोर मिथानेस गर्न सक्ने क्षमताको पूर्ण क्रियाशिल उपकरणबाट दैनिक ३ सय किलोग्राम जैकिक मल समेत उत्पादन हुनेछ छ । त्यस्तै ९६ किलोग्राम एलपिजी ग्यास अर्थात १४ किलोवाट विजुली उत्पादन हुनेछ । फोहोर प्रशोधन गर्ने क्रममा १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन हुने महानगरले जानकारी दिएको छ ।

उपत्यकामा हाल दैनिक ४ सय ५० टन फाहोर उत्पादन हुन्छ । जसमध्ये ६३ प्रतिशत जैबिक फोहोर हुन् । फोहोरबाट उत्पादन हुने बिजुली महानगरका कार्यलयका साथै सडक बत्तीका लागि प्रयोग गरिने भएको छ । यो परियोजना आगामी ३ बर्षसम्म हिमालय अलाइन्स फर क्लाइमेन्ट चेन्सलाई दिन लागिएको हो । ३ बर्षपछि हिम्काले महानगरलाई हस्तान्तरण गर्ने छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न सके महानगरका धेरै समस्या समाधान हुने बताए । साथै यो परियोजनामा महानगरको जैबिक फोहोर ब्यवस्थापनमा केही मात्रामा भनेपनि सहयोग गरेको बताए । ‘आफ्नो सहर आफै सफा राख्ने उद्देश्यसहित महानगर अघि बढेको छ,’ उनले भने, ‘तर, महानगरले सूर्योदय अघि फोहोर उठाउन थालेपनि निजी क्षेत्रले सो कार्यलाई निरन्तरता दिएको छैन ।’ यसैगरी काठमाडौंमा भएको सम्पूर्ण ट्याक्सी मिटरबाट चल्नुपर्ने बताउँदै नयाँ ट्याक्सीको आवश्यकता नभएको बताए ।

सो अवसरमा नेपालका लागि युरोपियन युनियनको राजदुत रेन्सजे टिरिंकले काठमाडौंलाई सफा बनाएर पुनः विश्वको उत्कृष्ट शहरका रुपमा चिनाउने बेला आएको बताइन् । साथै आगामी दिनमा पनि महानगरसँग सहकार्य गर्न तयार रहेको बताइन् ।

महानगरका उपमेयर हरिप्रभा खड्गीले उपत्यकाका फोहोरको सहि प्रयोग गर्ने उद्देश्य परियोजनाले राखेको बताइन् । त्यस्तै महानगरकै कार्यकारी निर्देशक इश्वरराज पौडेलले फोहोरलाई उर्जाको रुपमा रुपान्तरण गर्ने माध्यमको रुपमा परियोजना अघि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL