Logo

मन्त्री झुक्याउँदै उद्योगी, सहमति विपरित सिमेन्टको मूल्य प्रतिबोरा सय रुपैयाँसम्म बृद्धि

मन्त्री झुक्याउँदै उद्योगी, सहमति विपरित सिमेन्टको मूल्य प्रतिबोरा सय रुपैयाँसम्म बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

 

काठमाडौं । ‘पुनर्निर्माणलाई सहज बनाउन सिमेन्टको मूल्य नबढाउने विषयमा उद्योगीहरुसँग पटक पटक छलफल भएको छ छलफलमा उनीहरुले हालसम्म मूल्य बृद्धि नगरेको जानकारी गराउँदै आएका छन्,’ उद्योग मन्त्री नविन्द्रराज जोशीले बिजखबरसँग भने ।

सोही अनुरुप मन्त्री जोशीले सिमेन्ट उद्योगीहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर यस अघि बढाएको मूल्य समेत फिर्ता लिन निर्देशन दिएका थिए । सिमेन्टको मूल्य बृद्धि नगर्ने सम्बन्धमा व्यवसायीसँग तीन पटकभन्दा बढी छलफल भएको र हालसम्म सिमेन्टको कम्पनी मूल्यमा कुनै परिवर्तन नभएको उनी बताउँछन् । ‘अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बृद्धि तथा सोही अनुरुप ढुवानी भाडा बढेकाले व्यवसायीहरुले हरेक पटकको छलफलमा मूल्य बृद्धि गर्न माग गर्दै आएका छन्,’ उनले भने, ‘डिलरहरुले आफुखुशी मूल्य बृद्धि गरेपनि उद्योगीहरुले हालसम्म बढाएका छैनन् ।’

उद्योग मन्त्रीले हालसम्म सिमेन्टको मूल्य बृद्धि नभएको बताइरहँदा उद्योगीहरुले भने प्रतिबोरा १ सय रुपैयाँसम्म मूल्य बृद्धि गरिसकेका छन् । मन्त्रीलाई नभनेपनि उद्योगीहरुले आफुखुशी मूल्य बृद्धि गर्दै आएका छन् । कच्चा पदार्थको मूल्य बृद्धिका कारण पछिल्लो समय उद्योगीहरुले प्रतिबोरा मूल्य ६० रुपैयाँ बढाएको नेपाल सिमेन्ट उद्योग संघका महासचिव तथा अग्नी सिमेन्टका संचालक ताराप्रसाद पोखरेलले बताए । ‘सिमेन्ट उद्योगीहरुले पहिलो पटक प्रतिबोरा ३० रुपैयाँका दरले मूल्य बढाएका थिए,’ उनले भने, ‘गतहप्ता देखि पुनः बढेको मुल्य समेत गर्दा कम्पनीमै सिमेन्टको मूल्य प्रतिबोरा ५० देखि ६० रुपैयाँले बृद्धि भएको छ ।’ कम्पनी मूल्य प्रतिबोरा ६० रुपैयासम्म बढ्दा उपभोक्तासम्म पुग्दा १ सय रुपैयाँले बृद्धि भएको छ ।

अन्तरराष्ट्रिय बजारमा भएको कच्चा पदार्थको मूल्य बृद्धि तथा सोही अनुरुप विदेशबाट सामान आयात गर्दा लाग्ने ढुवानी भाडामा उच्च बृद्धि भएका कारण उद्योगीहरुले मूल्य बृद्धि गर्नु परेको उनको तर्क छ । ‘भारतको जयपुर तथा मध्य प्रदेशबाट क्लिङकर आयातगर्दा लाग्ने ढुवानी भाडा ७० प्रतिशतसम्म बृद्धि भएको छ भने भारतले सोही अनुरुप कच्चा पदार्थको मूल्य समेत बृद्धि गरेको छ,’ उनले भने, ‘आफ्नै क्लिङकरमा सिमेन्ट उत्पादन थालेका उद्योगहरुले पनि कोइला अभावका कारण माग अनुरुप उत्पादन गर्न सकेका छैनन् ।’ सरकारले मूल्य बृद्धि नगर्न निर्देशन दिएपनि कच्चा पदार्थ र ढुवानी भाडामा भएको उच्च मूल्य बृद्धिका कारण बाध्यतावस बृद्धि गर्नु परेको उनको तर्क छ ।

अनुसार भारतबाट रेल्वेमा कच्चा पदार्थ आयात गर्दा लाग्ने भाडामा ७० प्रतिशतसम्म बृद्धि भएको छ भने गोरखपुरबाट भैरहवासम्मको ढुवानी भाडामा पनि ७० प्रतिशत नै बढेको छ । अबका दिनमा सिमेन्टको मूल्य बृद्धि भन्दा पनि बजारमा सिमेन्टको अभाव नै हुने उनी बताउँछन् । उत्पादन कम र माग बढी हुँदा कच्चा पदार्थ आयातको समस्याले गर्दा माग अनुरुप उपलब्ध गराउने नसकिने उनको भनाइ छ ।

बजारमा सिमेन्टको साथै छटको मूल्य पनि सोही अनुरुप बढेको छ । द्रुत गतिमा पुनर्निर्माण भइरहेको बेलामा सिमेन्ट तथा रडको मूल्य उच्च रुपमा उकासिएको छ । केही समय अघि प्रतिकेजी ७२ रुपैयाँमा पाउँदै आएको रड २ हप्तामा बढेर ७८ रुपैयाँ पुगेको सम्बद्ध व्यापारीहरु बताउँछन् । उद्योगबाटै मूल्य बढेर आएका कारण सोही अनुरुप बृद्धि गर्नु परेको उनीहरुको गुनासो छ ।

तर, मन्त्री जोशी भने सिमेन्ट तथा रड उद्योगीहरुलाई पुनः बोलाएर मूल्य बृद्धि नगर्न निर्देशन दिने उनको तर्क छ । ‘मूल्य बृद्धि सम्बन्धमा यस अघि सिमेन्ट उद्योगीहरुसँगमात्र छलफल भएको थियो,’ उनले भने, ‘अब केही समय भित्रै रड उद्योगीहरुसँग पनि छलफल गर्ने छु ।’ साथै यस अघि व्यवसायी तथा डिलरले हरुले आफुखुशी मूल्य बृद्धि गरेका रहेछन् भने पनि त्यसलाई पुनः घटाइने उनको भनाइ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL