Logo

जलविद्युतमा अनलाइनबाटै सेयर भर्न सकिने, उत्पादकलाई ३ दिनभित्रै लाइसेन्स

जलविद्युतमा अनलाइनबाटै सेयर भर्न सकिने, उत्पादकलाई ३ दिनभित्रै लाइसेन्स


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उर्जा मन्त्री जनार्दन शर्माले जलविद्युतमा लगानी गर्न चाहने व्यक्तिका लागि अनलाइनबाटै सेयर भर्न सक्ने बताएका छन् । ‘हरेक नेपालीलाई जलविद्युतमा लगानी गर्ने वातावरण निर्माणका लागि मन्त्रालयले मापदण्ड तयारी गरिरहेको छ,’ निक इलेक्ट्रो २०१६ को उद्घाटन गर्दे उनले भने, ‘सो सम्बन्धमा सफ्टवेयर निर्माण भइरहेकाले सेयर भर्नका लागि केही समयभित्रै अनलाईन सिस्टम संचालनमा ल्याइने छ ।’
transweld

राष्ट्र निर्माणका लागि हरेक नेपालीलाई जलविद्युतमा लगानी गर्न प्रेरित गर्ने उद्देश्य अनुरुप अनलाईबाटै सेयर खुला गर्न लागिएको समेत शर्माले जानकारी दिए । ‘मन्त्रालयले कम्तीमा हरेक परिवारले १ लाख रुपैयाँ जलविद्युतको सेयरमा लगानी गर्न लगाउने गरी मोडालिटी तयार गरिरहेको छ,’ उनले भने, ‘हाम्रो मापदण्ड अनुसार अहिले १ लाख रुपैयाँ गरियो भने ती परिवार कम्तीमा १० लाख रुपैयाँको मालिक बन्ने छन् ।’

हाल उर्जा क्षेत्रका व्यवसायीहरुका धेरै गुनासो मात्र आईरहेको भन्दै त्यसलाई समाधान गर्न आफुले छुट्टै कार्यविधी बनाउन लागेको बताए । ‘हाल व्यवसायीले एउटा जलविद्युत आयोजना निर्माणको लाइसेन्स लिन कर्मचारीले दुःख दिएका कारण वर्षौ लागेको बताइरहेका छन्,’ उनले भने, ‘अवका दिनमा उपयुक्त पूँजीका साथ कार्ययोजना लिएर आउनुहोस म ३ दिनभित्र लाइसेन्स दिलाउँछु ।’ तर, त्यसको लागि व्यवसायीहरु आफु पनि तयार हुनुपर्ने उनको भनाइ थियो ।

neek
उनका अनुसार सरकारसँग उपयुक्त आयोजनाहरु भएको र व्यवसायीहरु चासो देखाएर आएमा छानीछानी उपलब्ध गराइने छ । कर्मचारी तन्त्रमा भइरहेको घुसखोरी रोक्नका लागि व्यवसायीहरु पनि सजक हुनुपर्ने शर्माले बताए । ‘व्यवसायीले नदिइकन कर्मचारीले कसरी घुस खान्छन्,’ उनले भने, ‘तसर्थ त्यसमा व्यवसायीहरु पनि सक्षम भएर बस्नु पर्यो ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा नेपाल इकरात इन्जिनियरिङ (निक)का प्रवन्ध निर्देशक कुशकुमार जोशीले सरकारले स्वदेशी उद्योग प्रवद्र्धनका लागि सहयोग गर्नुपर्ने बताए । ‘इलोक्ट्रोनिक्स क्षेत्रमा नेपालमा धेरै उद्योगहरु खुलिसकेका छन्,’ उनले भने, ‘तर सरकारले त्यसको संरक्षण नगरी आयातित वस्तुलाई प्रोत्साहन गरिरहेको छ ।’ साथै तयारी बस्तु र कच्चा पदार्थमा उस्तै खालको भन्सार दर भएको भन्दै आगामी दिनमा उद्योगका लागि आवश्यक कच्चा पदार्थको लागि भन्सारदर घटाउनु पर्ने उनको तर्क थियो ।

कार्यक्रममा नेपाल विद्युत व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले नेपाली बस्तुको प्रवद्र्धन तथा गुणस्तरीय बस्तुको प्रयोगमा मेलाले सहयोग पुर्याउने बताए । ‘हाल कतिपय उपभोक्ताले यस क्षेत्रका ज्ञान नभएका कारण बढी विद्युत खपत गर्ने बल्व तथा मेसिन प्रयोग गर्दै आएका छन्,’ उनले भने, ‘मेलाले सो विषयमा पनि जानकारी गराउने छ ।’

भृकुटी मण्डपमा आजदेखि ७ गतेसम्म चल्ने सो मेलामा स्वदेशी तथा विदेशी इलोक्ट्रोनिक सामग्रीको प्रर्दशनी रहेको छ । जहाँ १ सय १४ वटा स्टल र १ सयभन्दा बढी कम्पनीको उत्पादनहरु उपलब्ध छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL