Logo

नाकाबन्दी पछि डराए भारतीय लगानीकर्ता, भारतीयभन्दा चिनीयाँ लगानी भित्रने क्रम बढ्यो

नाकाबन्दी पछि डराए भारतीय लगानीकर्ता, भारतीयभन्दा चिनीयाँ लगानी भित्रने क्रम बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालु आर्थिक बर्षमा नेपालमा भारतको तुलनामा चीनको लगानी भित्रने क्रम बढेको छ । यस अघिका वर्षमा अन्य देशको तुलनामा भारतबाट लगानी भित्रने क्रम बढी रहेकोमा चालू आवमा चीनबाट बढी लगानी प्रस्ताव आएको छ । भारतीय नाकाबन्दीका कारण नेपाल र भारतबीचको सम्बन्ध केही चिसिएपछि लगानी आउने क्रम पनि ओरालो लागेको सम्बद्ध सरोकारवाहरु बताउँछन् ।

करिव ४ महिना भारतीय नाकाबन्दीले गर्दा त्यसतर्फका लगानीकर्ताले चालु आवमा नेपालमा लगानी कम गरेको उद्योग विभागका अनुमति शाखा अधिकृत रामप्रसाद लुँइटेलले जानकारी दिए । ‘लामो समयको नाकाबन्दीले गर्दा भारतीय लगानीकर्तामा नेपालमा लगानी सुरक्षित नहुने भन्दै लगानी गर्न डराएका हुन्,’ उनले भने ।

उद्योग विभागका अनुसार चालु आवमा नेपालमा भारतको लगानी १ अर्व ९२ करोडमा सिमित भएको छ । तर, गत आवमा ३४ अर्व ७१ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको थियो । सोही अवधिमा चीनबाट भने ५ अर्व ९६ करोड रुपैयाँ बराबरको लगानीको प्रस्ताव आएको छ । चालू आवमा भित्रिएको लगानीमा भारतको तुलनामा चिनीयाँ लगानी ३ गुणाले बढी छ ।

त्यस्तै विभागका अनुसार गत आवमा भारतीय लगानीका २५ वटा उद्योग दर्ता भएकोमा हाल सो संख्या घटेर २० वटामा सिमित भएको छ । उद्योग विभागका अनुसार गत आवमा प्रस्ताव आएका भारतीय उद्योगले ७ सय १२ जनालाई रोजगारी दिने प्रतिवद्धता गरेकोमा यस बर्ष ६ सय ८५ लाई मात्र रोजगारीको प्रतिवद्धता आएको छ ।

भारतको तुलनामा लगानी बढेपनि गत आवको तुलनामा भने चिनीयाँ लगानी भित्रने क्रम पनि ओरालो लागेको छ । गत आर्थिक बर्षमा २५ अर्व रुपैयाँ बराबरको लगानी भित्रिएकोमा यस बर्ष करिव ६ अर्वको मात्र लगानी भित्रिएको विभागको तथ्याङकमा उल्लेख छ । चालु आर्थिक बर्षमा चिनीयाँ लगानीका १ सय ७ ओटा उद्योग दर्ता भएका छन् । तर, गत आर्थिक बर्षमा १ सय ५७ ओटा उद्योग दर्ता भएका थिए ।

विभागका अनुसार हालसम्मको तुलना गर्दा संख्यात्मक रुपमा भारतभन्दा चिनीयाँ लगानीका उद्योग खुल्ने क्रम बढेको छ । तर, लगानीको तुलनामा भने भारत नै अघि देखिएको छ । तर, चालू आवमा भने संख्या तथा लगानीको हिसावले दुवैमा भारतभन्दा चीन अगाडी देखिएको छ ।

उद्योग विभागका अनुसार हालसम्म चिनीयाँ लगानीका १ हजार ९ ओटा उद्योग दर्ता भएको छ । यता भारतीय लगानीका भने ६ सय ३४ ओटा उद्योग दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL