Logo

६ महिनामा ४० अर्ब वैदेशिक लगानी स्वीकृत, स्वदेशी लगानी ओरालो बाटोमा

६ महिनामा ४० अर्ब वैदेशिक लगानी स्वीकृत, स्वदेशी लगानी ओरालो बाटोमा



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा ४० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागको गत साउनदेखि पुससम्मको तथ्याङ्कमा ४० अर्ब ६८ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको उल्लेख छ ।

विभागका अनुसार उक्त अवधिमा विभिन्न १ सय ५० ओटा उद्योगमार्फत ४० अर्ब रुपैयाँ लगानीको प्रस्ताव आएको हो । सरकारले पछिल्लो समय लगानी प्रोत्साहनका विभिन्न कार्यक्रमहरु अघि बढाउँदा लगानीमा आकर्षण बढेको छ ।

गत बर्षको सोही अवधिमा बैदेशिक लगानी जम्मा १४ अर्ब १६ करोड रुपैयाँको प्रस्ताव आएकोमा यो बर्ष उक्त प्रतिवद्धता बढेको हो । गत बर्षको उक्त अवधिमा १ सय ९७ उद्योगमार्फत उक्त लगानी प्रतिवद्धता आएको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा गत बर्षको तुलनामा सेवा र पर्यटन क्षेत्रमा लगानी बढेको छ । गत बर्ष सेवा क्षेत्रमार्फत १ अर्ब ७८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएकोमा चालु बर्ष भने लगानी बढ्दै ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यस्तै पर्यटन क्षेत्रमा पनि गत बर्षको तुलनामा चालु बर्ष झण्डै ३ अर्ब रुपैयाँले लगानी प्रतिवद्धता बढेको छ ।

विभागको तथ्याङ्क अनुसार गत बर्ष ५ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको पर्यटन क्षेत्रमा यो बर्ष बढेर ८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । वैदेशिक लगानी आकर्षणका लागि सरकारले एकल विन्दु सेवाकेन्द्र, लगानी सम्मेलन लगायत प्रोत्साहनमुलक कामहरु अघि बढाएको छ ।

सोही अनुसार चालु आवमा वैदेशिक लगानीकर्ताहरु नेपालमा लगानीका लागि आकर्षीत भएको व्यवसायीहरु बताउँछन । यस्तै सरकारले अंग्रेजी बर्ष २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गर्दा पनि सेवा र पर्यटन क्षेत्रमा लगानी बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन ।

भ्रमण बर्षकै कारण पर्यटन र सेवा क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको विभागले जानकारी दिएको छ । पछिल्लो समय ठुला होटल तथा रेष्टुरेन्टहरुमा चिनियाँ लगानीकर्ताहरुले लगानी बढाएका छन ।

यस्तै पछिल्लो ६ महिनामा उर्जा क्षेत्रमा ११ अर्ब ८२ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ । यस क्षेत्रका विभिन्न ५ ओटा उद्योगमार्फत उक्त लगानी प्रतिवद्धता आएको हो । पछिल्लो ६ महिनामा प्रतिवद्धता आएको उद्योगमार्फत ७ हजार ८ सय ६९ जनाले रोजगारी पाउने विभागले जानकारी दिएको छ ।

स्वदेशी लगानीमा गिरावट

वैदेशिक लगानी बढिरहँदा स्वदेशी लगानीमा भने कमी आएको छ । गत आर्थिक बर्षको पहिलो ६ महिनामा १ खर्ब १५ अर्बको स्वदेशी लगानी प्रतिवद्धता आउँदा चालु आवको सोही अवधिमा लगानी प्रतिवद्धता घटेर ९१ अर्ब ३० करोड रुपैयाँ पुगेको हो ।

नेपाली व्यवसायीले नै सरकारलाई विदेशी र स्वदेशी लगानीकर्तालाई काखा र पाखा गरेको आरोप लगाईरहँदा यसको प्रत्यक्ष असर स्वदेशी लगानी प्रतिबद्धतामा परेको छ । कतिपय व्यवसायीले सरकारलाई स्वदेशी लगानीकर्तालाई वास्ता नगरेको आरोप लगाउँदै आएका छन् । त्यसैको असर समग्र लगानीमा परेको छ । गत बर्ष उत्पादनमुलक क्षेत्रमा मात्रै ३० अर्बको स्वदेशी लगानी प्रतिवद्धता आएको थियो ।

तर चालु आवको सोही अवधिमा उक्त क्षेत्रमा लगानी प्रतिवद्धता घट्दै १२ अर्ब ९८ करोड रुपैयाँ पुगेको हो । उक्त अवधिमा उर्जामूलक क्षेत्रमा ५२ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आउँदा पर्यटनमुलक क्षेत्रमा १६ अर्ब बराबरको प्रतिवद्धता आएको छ । उक्त अवधिमा विभिन्न १ सय ९० उद्योगमा १२ हजार ५ सय ८० जनाले रोजगारी पाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL