Logo

श्रेष्ठको आरोप र गोल्छाको त्यो भाषण, जसका कारण भवानी राणाले छाडिन ‘ढकाल क्याम्प’

श्रेष्ठको आरोप र गोल्छाको त्यो भाषण, जसका कारण भवानी राणाले छाडिन ‘ढकाल क्याम्प’



काठमाडौं । नेपाल सरकारका पूर्व सचिव तथा नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन महानिर्देशक (महासचिव) सुरेशमान श्रेष्ठले २०७४ चैत २ गते महासंघ नेतृत्व विधि र विधान अनुरुप नचलेको र कुनै पनि समय दुर्घटनामा पर्ने भन्दै आफुले पदबाट राजीनामा दिएका थिए । नेपाल सरकारको मन्त्रिपरिषदबाट स्वीकृत विधानबाट संचालित हुँदै आएको महासंघलाई पूर्व सचिव एवं हाल वागमती प्रदेशका लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठले महासंघ गैरकानूनी रुपमा चलेको र चरम आर्थिक अनिमियतता भएको आरोप लगाएका थिए ।

laxmi

श्रेष्ठले आफ्नो ११ पेज लामो राजीनामा पत्रमा लेखेका थिए, ‘महासंघ अध्यक्ष भवानी राणाले पदाधिकारी तथा सचिवालयका उच्च नेतृत्वसँग सल्लाह नै नगरी आफुखुशी ठूलो रकम खर्च गर्दै हिनामिना गरेको, समिति नै गठन नगरी आफुखुशी संस्था संचालन गरेको, सचिवालयको मुख्य जिम्मेवारी पाएको आफुसँग कुनै सल्लाह नै नगरी तल्लो तहका कर्मचारीको तजविजीमा संस्था संचालन गरेको, कृषि उद्यम केन्द्रको रकम हिनामिना गरी भ्रष्टाचार गरेका कारण महासंघको ठूलो रकम दुरुपयोग भएको छ ।’ महासंघ अध्यक्षले गरेको भ्रष्टाचार तथा अनिमियताको आफु साछी बस्न नसक्ने भन्दै उनले कार्यभार सम्हालेको दुई बर्षमै पदबाट राजीनामा दिएका थिए ।

यसैगरी महासंघका तत्कालिन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पनि अध्यक्षले आफुखुशी संस्था संचालन गरी कृषि उद्यम केन्द्रको ठूलो रकम हिनामिना गरेको र महासंघभित्र भएका खर्चको आफुलाई कुनै पनि जानकारी नदिएको भन्दै प्रश्न खडा गरेका थिए । तर, अध्यक्षले गरेको आर्थिक अनियमियताको विषयमा बोल्दा उनलाई राजीनामा नै दिन वाध्य पारियो । महासंघका अध्यक्ष भवानी राणाले आफ्नो ३ बर्षे कार्यकालमा आफुले गरेको गैरकानूनी क्रियाकलाप तथा आर्थिक हिनामिनाको विषयमा जसले प्रश्न उठाउँछ उसलाई बाईपास गर्दै संस्था संचालन गर्ने वा राजिनामा नै दिन वाध्य पार्ने जस्ता काम गर्दै आएको महासंघ उच्च स्रोतको दाबी छ ।

महासंघमा सदस्य पदबाट मनोनित भएदेखि अध्यक्ष बन्दासम्म महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकाल क्याम्पको संरक्षण र आर्शिवाद लिएर अघि बढेकी अध्यक्ष राणा अहिले आफ्ना गैरकानूनी क्रियाकलापको बचाउ गर्नकै लागि महासंघका अब हुने अध्यक्ष शेखर गोल्छा क्याम्पमा लागेको महासंघका केन्द्रिय सदस्यहरु बताउँछन् । महासंघ अध्यक्षात्मक प्रणालीबाट संचालन हुने भएकाले पनि महासंघलाई कसरी संचालन गर्ने, हिजोका दिनमा भएका गतिविधिलाई कसरी उठान गर्ने भन्ने विषय अध्यक्षको निर्णयमा भर पर्छ ।

तर, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विराटनगर पुगेर आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवार किशोर प्रधानको घोषणासभामा भवानी राणाले महासंघमा ठूलो आर्थिक हिनामिना गरेको, महासंघको सदस्यहरुलाई आम्दानी तथा खर्चको विषयमा जानकारी नदिएको आरोप लगाउँदै आफु अध्यक्ष भएर आएको ६ महिनाभित्रै फुल अडिट गरेर पारदर्शी बनाउने उद्घोष गरेसँगै आफ्ना आर्थिक अनियमितता र गैरकानूनी क्रियाकलापको बचाउ गर्नकै लागि राणाले ढकाल क्याम्प छाडेको एक केन्द्रिय सदस्य बताउँछन् । ‘महासंघलाई नेतृत्वले अबैधानिक तरिकाबाट अघि बढाउने प्रयास गर्दा इतिहासमै कमजोर मात्रै होइन दुर्घटना हुने अवस्थामा पुगेको छ,’ ती सदस्यले भने, ‘अध्यक्ष राणाले महासंघको विधानको मर्म र भावनालाई विर्सिएर आफ्नो कर्तुत जोगाउनकै लागि एउटा पक्षको लविङ गर्ने र केही समयका लागि आफ्नो कार्यकाललाई टिकाउन लागिपर्दा महासंघले आफ्नो साख गुमाएको छ ।’

अध्यक्ष भवानी राणा माथि महासंघका तत्कालिन महासचिव सुरेशमान श्रेष्ठले लगाएका आरोप

पछिल्लो समय राणाले आफ्नो अबैधानिक क्रियाकलापको ढाकछोप गर्नकै लागि एउटा पक्षलाई सर्थन गरेजस्तो गरेर सोही समुहलाई नै उल्टो प्रयोग गरिरहेको ती सदस्यको आरोप थियो । ‘बाहिरबाट हेर्दा राणाले शेखर गोल्छा र वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई समर्थन गरेको जस्तो देखिएको छ,’ ती सदस्यले भने, ‘तर गोल्छाले आफु अध्यक्ष भएर आएसँगै महासंघका हरेक आर्थिक क्रियाकलाको एकएक हिसाव गरेर सम्पूर्ण सदस्यलाई जानकारी गराउने उद्घोष गरेसँगै राणाले आफ्नो गैरकानूनी क्रियाकलाप ढाकछोप गर्नका गरिएको नाटक मंचन मात्रै हो ।’ महासंघको विधान र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षको मर्म अनुरुप अध्यक्ष राणा तथा वेटिङ प्रेसिडेण्ड गोल्छा न्युट्रल बस्नु पर्ने भएपनि वरिष्ठ उपाध्यक्षका उम्मेदवार द्वयमध्ये प्रधानलाई जिताउन तथा चन्द्रप्रसाद ढकालको विरोधमा लाग्दा त्यसले आगामी दिनमा महासंघ संचालन प्रक्रियामै समस्या पर्ने समेत महासंघ स्रोतको दावी रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघलाई महासंघहरुको पनि महासंघ अर्थात राज्यपछिको दोस्रो ठूलो संजाल भएको प्रतिनिधिमुलक संस्था भनिरहँदा अध्यक्ष राणाले आफ्ना गैरकानूनी क्रियाकलाप ढाकछोपका लागि कतिपय प्रमाणहरु समेत नष्ट गरेको महासंघकै पदाधिकारीहरुको आरोप छ । ‘पछिल्लो समय महासंघमा भएका काम तथा जुम मिटिङमा भएको कुराकानीको रेकर्ड माग्दासमेत अध्यक्ष राणाले हरायो वा डिलिट भयो भनेर दिन मानिरहनु भएको छैन,’ महासंघका एक पदाधिकारीले भने, ‘अहिले बैंठकमै उठान नभएका विषयलाई समेत अध्यक्ष राणाले एकलौटी रुपमा मनगणन्ते तरिकाबाट निर्णय गर्दै आउनुभएको छ जुन महासंघ इतिहासकै दुर्भाग्य हो ।’

महासंघका तत्कालिन अध्यक्ष चण्डीराज ढकालले राणालाई सदस्यमा मनोनित गरेर ल्याएसँगै पूर्व अध्यक्षहरु उनको विरोधमा उत्रिएका थिए । उनलाई ढकालले विधाननै संशोधन गरेर अध्यक्ष बनाउँदा पूर्व अध्यक्षहरुले ‘नोटअफ डिसेन्ट’ नै लेखेका थिए । चण्डी ढकालले भने आफ्नो पहलमा विधान नै संशोधन गरेर भवानी राणालाई अध्यक्ष बनाएका थिए । तर, पछिल्लो समय ठीक त्यसको विपरित राणाले पूर्व अध्यक्षकै साथ लिएर बहुमतको आधारमा महासंघको विधान विपरित पदाधिकारी बैंठकबाट चुनावी मिति सार्नेलगायतका ठूला निर्णयहरु गरेको आरोप छ । राणालाई मनोनित गरेर कार्यसमितिमा ल्याएर अध्यक्ष बनाउँदासम्म त्यसअघि कुनै पनि संघसंस्थाको नेतृत्वमा नभएको र महासंघ समेत नबुझेको व्यक्तिलाई बाहिरबाट टिपेर ल्याएर अध्यक्ष बनाएको आरोप ढकाललाई लाग्दै आएको छ ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले महासंघभित्र भएको आर्थिक अनिमियतताको एकएक छानविन गरेर हिसावकिताव गर्ने उद्घोष गरेसँग राणाले १२ बर्षपछि ढकाल क्याम्प छाडेर उनै गोल्छाको शरणमा पुगेको महासंघका एक कार्यसमिति सदस्यले जानकारी दिए । ‘अध्यक्ष राणाले विगत ९ बर्षदेखि कृषि उद्यम केन्द्रको सभापति भएर नेतृत्व लिँदै आएका छन्,’ ती सदस्यले भने, ‘अध्यक्षले राणाले कृषि उद्यमक केन्द्रको ठूलो रकम हिनामिना गरेको र अहिले कृषि उद्यम केन्द्रमा भएको अनियमितता छानविनका लागि अख्तियार दुरुपयोग आयोगले प्रक्रिया अघि बढाएकाले पनि त्यसैको बचावटमा ढकाल क्याम्प परिवर्तन गर्नुभएको छ ।’ पछिल्लो समय जसले राणाले गरेको आर्थिक अनिमियताको सवालमा प्रश्न उठायो उसैलाई समर्थन गरेर पछि लाग्नु नै उनको अनियमितताको पुष्टि भएको ती सदस्यको दावी थियो ।

अध्यक्ष राणाले गरेको आर्थिक हिनामिनाकै कारण सरकारले महासंघले पेश गरेको खर्चको बिलको कुनै आधार नभएको र सोहीअनुरुप वेरुजु भएको भन्दै संस्थाको नविकरणमा समेत रोक लगाएको छ । महासंघले गरेको खर्चको आधार नभएको, सरकारलाई तिर्नुपर्ने कर नतिरको भन्दै सरकारले व्यालेन्ससिट एप्रुभ तथा संस्था नविकरण नगर्दा भोलिका दिनमा सरकारबाट आउने सहयोगसमेत गुम्ने खतरामा पुगेको महासंघ सचिवालयले जानकारी दिएको छ । ‘महासंघ अबैधानिक रुपमा चलेको र जसबाट महासंघको साखनै धरापमा पर्ने भन्दै कार्यसमितिका एक चौथाई सदस्यले तत्काल कार्यसमितिको बैंठक बोलाउन निवेदन दर्ता गराएका छन्,’ एक सदस्यले भने, ‘महासंघ मन्त्रिपरिषदबाट स्वीकृत विधान अनुरुप चलेको र यदि सदस्यको माग अनुरुप बैठक नबोलाएमा अवैधानिक रुपमा चल्दै आएको हालको कार्यसमिति भंग गरेर राज्यले नै हस्तक्षेप गरेर छुट्टै समिति गठन गरी यथासक्य चाँडो निर्वाचन गराउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL