Logo

एक्जिम कोड नवीकरणको समय थप, असोज मसान्तसम्म नवीकरण गर्न सकिने

एक्जिम कोड नवीकरणको समय थप, असोज मसान्तसम्म नवीकरण गर्न सकिने



काठमाडौं । भन्सार विभागले एक्जिम कोड नवीकरणको मिति थप गरेको छ । सोमबार बसेको भन्सार ब्यापार सहजीकरण समितिको बैठकले एक्जिम कोड नवीकरणका लागि ३ महिनाको समय थप गरेको हो ।

सँगै व्यवसायीले असोज मसान्तसम्म एक्जिम कोड नवीकरण गर्न सक्नेछन् । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण सृजित परिस्थितिका कारण व्यवसायीका लागि नवीकरणको अवधि थप गरिएको विभागले बताएको छ ।

अन्तर्राष्ट्रिय व्यापारका लागि एक्जिम कोड अनिवार्य रहेको छ। नेपाली व्यापारीले कुनै मुलुकमा समान पठाउनुपर्‍यो भने एक्जिम कोड अनिवार्य चाहिन्छ। अन्तर्राष्ट्रियस्तरमा वैध व्यापारका लागि यो कोड अनिवार्य भएको हो।

आयात निर्यातमा संलग्न व्यापारीहरुको पहिचान गर्न तथा सहजताका लागि निकासी–पैठारी संकेत नम्बर प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७३ अनुसार यो व्यवस्था लागू गरिएको हो। एकपटकमा ५० हजारभन्दा कम मूल्यका सामग्रीहरू आयात गर्ने र ५ लाख रुपैयाँभन्दा कमको सामान निर्यात गर्नेहरूका लागि भने यस्तो कोड आवश्यक छैन। उनीहरूले यो कोड नलिई आयात–निर्यात गर्न पाउँछन्।

सरकारले २०७४ माघबाट नै व्यापारीहरुलाई यस्तो कोड लिन सकिने गरी अनलाइन दर्ताको व्यवस्था मिलाएको थियो। व्यापारमा निरन्तरता नदिनेले यस्तो कोड खारेज गर्न सक्ने र यसको नवीकरण आवश्यकताअनुसार ३ देखि ५ वर्षभित्रमा गर्न सकिने व्यवस्था छ। भन्सार प्रणालीमा सुधार गर्ने क्रममा ल्याइएको यो व्यवस्थाले आयात–निर्यातमा संलग्नहरुको आधिकारिक तथ्यांक निस्कने र राजस्व संकलनलाई पारदर्शी भएको सरकारले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL