Logo

नेपाल वायुसेवा निगम ६३ औं वर्षमा, लकडाउनका कारण एक अर्ब रुपैयाँ आम्दानी गुमेको गुनासो

नेपाल वायुसेवा निगम ६३ औं वर्षमा, लकडाउनका कारण एक अर्ब रुपैयाँ आम्दानी गुमेको गुनासो



काठमाडौं । राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगम स्थापनाको ६३ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा आफ्ना गतिविधिबारे जानकारी दिँदै पछिल्लो समयमा व्यवसाय र वित्तीय अवस्थामा क्रमिक सुधार आएको निगमले जनाएको छ ।

निगमलाई सार्वजनिक–निजी साझेदारीका मोडलमा लैजाने वातावरण बन्दै गएको निगमको भनाइ छ । आन्तरिक उडानतर्फ क्षमता विस्तार गरी कम्पनी मोडलमा जाने तयारी गरेको कम्पनीले जनाएको छ । वार्षिकोत्सवका अवसरमा निगमले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको उल्लेखनीय योगदान रहँदै आएको बताएको छ ।

क्षमता विस्तारका लागि निगमले इक्विटी इन्जेक्ट, आन्तरिक तर्फका लागि नयाँ जहाज थप्ने, अधिकृत चुक्ता पुँजी वृद्धि गर्नेलगायत योजना बनाएको बताइएको छ । पर्यटन क्षेत्रकै एउटा प्रमुख आधार बन्दै आएको निगम यसपल्ट विश्वमै फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

निगमले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न तथा नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुको देशमा पु¥याउन हवाई उडान संचालन गरेको थियो । निगमले चार्टर्ड उडानमार्फत नेपाली हवाई उड्डयनको इतिहासमै पहिलो पटक अस्ट्रेलिया उडान गरेको बताइएको छ । निगमले विज्ञप्तिमा आफ्नो सेवालाई नियमित एवं विश्वसनीय बनाउँदै सक्रिय रहने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

निगमले यात्रुहरूको परिवहनसँगै स्वास्थ्यसँग सम्बन्धित उपकरण र वस्तुहरुको आपूर्तिमा पनि आफ्नो दायित्व निर्वाह गर्दै आएकोसमेत जनाएको छ । जहाजको प्रकार, इन्धन खपत, मर्मत सम्भार, पाइलट तालिम लगायतलाई मुख्य प्राथमिकतामा राखी साना जहाज ल्याउने योजनासमेत निगमले अघिसारेको जनाएको छ । विसं २०१५ असार १७ ९सन् १९५८ जुलाई १० मा स्थापना भएको निगम नेपालको सरकारी स्वामित्वको वायुसेवा कम्पनी हो ।

चैतदेखि भएको लकडाउनका कारण कम्पनीको आम्दानीमा कमी आएको छ । लकडाउनको तीन महिनाको अवधिमा निगमले ग्राउण्ड ह्याण्डलिङबाट हुने करिब एक अर्ब रुपैयाँ आम्दानी गुमाएको छ ।

लकडाउन अगाडि नियमित उडान–अवतरण भएको अवस्थामा निगमले ग्राउण्ड ह्याण्डलिङ मार्फत मासिक न्यूनतम ३५ करोड रुपैयाँ आम्दानी गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL