Logo

नेपालको निर्यातको उच्च सूचीमा रहेको पाम आयलको आयात भारतले पुनः रोक्यो

नेपालको निर्यातको उच्च सूचीमा रहेको पाम आयलको आयात भारतले पुनः रोक्यो



काठमाडौं । भारतले पाम आयल आयातमा पुनः रोक लगाएको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले २९ वैशाखमा सूचना जारी गर्दै नेपाल र बंगलादेशबाट निर्यात हुने पाम तेलको आयातमा रोक लगाएको हो ।

भारतले पाम आयात आयातमा रोक लगाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । ‘भारतले पाम आयल आयातमा रोक लगाएको जानकारी हिजो बेलुका मात्रै हामीकहाँ आएको छ,’ उनले भने, ‘यस पटक भारतले पाम आयल आयातमा रोक लगाउनुका साथै त्यस्ता बस्तु आयात गर्ने लाईसेन्स नै खारेज गरिदिएको छ ।’

यसअघि भारतले वैदेशिक व्यापार नीति संशोधन गर्दै गत वर्षको २३ पुसदेखि पाम तेलको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसबेला भारतमा सबै देशबाट पाम आयल आयातमा रोक लगाएको थियो ।

त्यसपश्चात भारतले नेपाल र बंगलादेशबाट पाम आयल आयातका लागि भन्दै लाईसेन्स दिएको थियो । तर अहिले उक्त लाईसेन्स नै खारेज गर्दै भारतले पाम आयल आयातमा रोक लगाएको हो ।
नेपालमा उत्पादन नहुने भएपनि पछिल्लो समय नेपालबाट बढी निर्यात हुने बस्तुको सूचीमा पाम आयल पर्दै आएको छ । नेपालका व्यापारीहरुले मलेसिया, इण्डोनेशिया र सिंगापुर तथा थाइल्याण्ड लगायतका मुलुकबाट पाम तेलको कच्चा पदार्थ ल्याएर प्रशोधन गरेर निर्यात गर्दै आएका थिए ।
नेपालका व्यापारीहरुले पनि भारतमा पाम आयल निर्यातका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेका थिए । तर त्यसको केही समय खुलेको निर्यात पुनः बन्द हुन पुगेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ९ महीनाको अवधिमा नेपालबाट भारततर्फ १६ अर्ब ७८ करोड रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL