Logo

वाणिज्य विभागको कार्वाही पछि आयो भाटभटेनीको स्पष्टोक्ति -‘ प्राविधिक र कानुनी रुपमा गल्ती भयो, उपभोक्ता ठग्ने नियत हैन’

वाणिज्य विभागको कार्वाही पछि आयो भाटभटेनीको स्पष्टोक्ति -‘ प्राविधिक र कानुनी रुपमा गल्ती भयो, उपभोक्ता ठग्ने नियत हैन’



काठमाडौं । टंगालस्थित भाटभटेनी सुपरमार्केटले नेपाल सरकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैशाख १५ गते गरेको कार्वाही सम्बन्धमा आफ्नो स्पष्टोक्ति दिएको छ । सुपरमार्केटले काठमाडौंको टेकुस्थित काष्ठमण्डप खाद्य उद्योग प्रालिबाट आपूर्ति गरिएको २५० ग्रामको लाखमरी प्याकेटमा बढी मूल्य लिएको भन्दै उक्त जरिवाना विभागले गरेको थियो ।

सुपरमार्केटले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘भाटभटेनीले आफ्ना आउटलेटमार्फत बिक्री हुने हरेक सामानको मूल्य र स्टकको हिसाबकिताब राख्न बारकोड प्रयोग गर्दै आएको छ । तर उक्त लाखमरीको हकमा लकडाउनको अवस्थामा हामीले बारकोडको स्टिकर टाँस्ने जिम्मा सामान आपूर्तिकर्ता काष्ठमाण्डप खाद्य उद्योगलाई नै दिएका थियौं । र उक्त उद्योगले पनि लकडाउनकै कारण सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको हामीलाई जानकारी गराएको छ । र सोही बारकोड हाम्रो बारकोड रिडरले पहिचान गर्दा कम्प्युटर प्रणालीमा बढी मूल्य देखिन गई विभागले हामीलाई जरिवाना गरेको हो ।’

प्राविधिक र कानुनी रुपमा गल्ती स्वीकार गर्दै भाटभटेनीले उपभोक्ता ठग्ने अथवा गलत बाटोबाट पैसा कमाउने नियतले नभएको दावी गरेको छ । विगतमा विनाशकारी भूकम्प र नाकाबन्दीको अप्ठेरो अवस्थामा हामीले आपूर्तिकर्तासँग मोलमोलाइ गर्नुका साथै कम्पनीलाई हुने नाफा कटौती गरेर पनि उपभोक्तालाई साबिकको मूल्यमा सामान उपलब्ध गराएको संझना गराउँदै भाटभटेनीले हरेक आउटलेटमार्फत बिक्री हुने वस्तुहरु अधिकतम खुद्रा बिक्री मूल्य ९एमआरपी० भन्दा कम मूल्यमै पाइने पनि बताएको छ ।

अत्यावश्यक खाद्य सामग्रीहरु बजारको भन्दा कम मूल्यमै स्टोरमार्फत बिक्री भइरहको जानकारी गराउँदै स्टोरहरुबाट बिक्री हुने वस्तुको मूल्यको ग्यारेन्टी दिन तयार रहेको पनि सुपरमार्केटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL