Logo

अग्रवालको कालोबजारीले वाणिज्यदूतमाथि सरकारको प्रश्न ?, नैतिक संकटमा सीएनआई र एफएनसीसीआई !

अग्रवालको कालोबजारीले वाणिज्यदूतमाथि सरकारको प्रश्न ?, नैतिक संकटमा सीएनआई र एफएनसीसीआई !



काठमाडौं । स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा शंकर ग्रूपका प्रबन्ध निर्देशक सुलभ अग्रवाल पक्राउ परेसँगै यसले नेपाली व्यवसायी र अवैतानिक वाणिज्यदूतहरुमाथी नै प्रश्न चिह्न खडा गरेको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा कीर्गिस्थानका लागि अवैतानिक वाणिज्यदूत रहेका अग्रवाल महामारीको समयमा स्वास्थ्य सामग्रीमा कालोबजारी गरिरहेको अवस्थमा प्रहरीले पक्राउ गरेसँगै यसले नेपाली उद्योगी व्यवसायीको राज्यप्रतिको दायित्व र निलो नम्बर प्लेट र गाडिमा झण्डा हल्लाएर हिड्ने अवैतानिक वाणिज्यदूतको नियत माथी नै सरकारले प्रश्न चिह्न खडा गरेको छ ।

अग्रवालले पदीय दुरुपयोग गरेर कालोबजारी गरको आरोपमा बुधबार पराराष्ट्र मन्त्रालयले सबै अवैतानिक वाणिज्यदूतहरुको सेवा सुविधा तथा अधिकार खोसेसँगै यसले उनीहरुमाथी नैतिकरुपमा प्रश्न खडा गरेको हो । देशमा महामारी आईपरेको अवस्थामा अग्रवालले पदीय दुरुपयोग गरेकोभन्दै सरकारले तत्कालका लागि सम्पूर्ण अवैतानिक वाणिज्यदूतको निलो नम्बर प्लेट र झण्डालगायत सम्पूर्ण सेवा सुविधा खोस्नुपरेको पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

निलो नम्बर प्लेटको गाडि प्रयोग गरेर जुन खालको काम भयो त्यो अकल्पनीय र दुर्भाग्यपूर्ण भएको डिन अफ अनररी कन्सुलर नेपाल तथा दक्षिण अफ्रिकाका लागि अवैतानिव वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले बताए । ‘अवैतातिक वाणिज्यदूतहरुले जुन किसिमको पदीय दायित्व लिएर बसेका हुन्छन त्यो कुनैपनि हालतमा गर्न हुने काम थिएन,’ श्रेष्ठले भने, ‘अझ प्रहरीले निलोनम्बर प्लेटको गाडि सहित जसरी पक्राउ गरेको छ त्यसले ठूलो नैतिक प्रश्न खडा गरेको छ ।’

तर एकजनाले गल्ती गर्दा सरकारले सबैलाई एउटै बास्केटमा राखेर निर्णय गर्न नहुने उनको भनाई छ । ‘देशलाई संकट परेको अवस्थामा पब्लिक प्रेसर परेर सरकारले पनि उक्त निर्णय गर्न बाध्य भएको हुनुपर्छ,’ उनले भने, ‘सरकारले जे निर्णय गरेको छ त्यसलाई हामी पूर्णरुपमा पालाना गर्छौ र आजैदेखि निलोनम्बर प्लेटको गाडि चढ्दैनौं ।’ कुनै पनि देशको लागि अवैतानिक वाणिज्यदूतको भुमिका महत्वपूर्ण हुने र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा कोरोनाको महामारी सकिएपछि सरकारसँग छलफल गरेर दिर्घकालिन निष्कर्ष निकालिने समेत उनले जानकारी दिए ।

तर महामारीको समयमा सुलभ अग्रवालले गरेको हर्कतले सिङ्गो मारवाडी समुदाय र समग्र नेपाली उद्योगी व्यवसायीहरु माथी नै प्रश्न चिह्न खडा गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघ होस वा नेपाल उद्योग परिसंघको नेतृत्वमा रहेर हालीमुहाली गर्दै आएको शंकर समुहको उक्त कार्यले दुबै संस्थाप्रति नै नैतिक प्रश्न चिह्न खडा गरेको छ ।

कालोबजारीमा पक्राउ परेका शंकर समुहका प्रबन्ध निर्देशक सुलभ अग्रवाल हाल नेपाल उद्योग परिसंघको उपाध्यक्ष छन् भने सोही समुहका संचालक उनका भाई साहिल अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघमा लामो समयदेखि कार्यसमितिमा रहँदै आएका छन् । साहिल अग्रवाल हाल नेपाल उद्योग बाणिज्य महासंघको वैदेशिक लगानी प्रवद्र्धन समितिको सभापति समेत रहेका छन् ।

तर उद्योगी व्यसायीको हित गर्ने संस्थाको उच्च नेतृत्वमा वसेर देशलाई संकट परेको समयमा कालोबजारीजस्ता देशद्रोही गर्ने अग्रवालको हर्कतले के साच्चै नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीक हकहित र राष्ट्रहितमा काम गर्दै आईरहेको छ भन्नेमै प्रश्न चिह्न खडा गरिदिएको छ ।

आफ्नै संस्थाको उपाध्यक्षले देशलाई संकट परेको अवस्थामा पदीय दुरुपयोग गर्दै कालोबजारी गर्दा पनि नेपाल उद्योग परिसंघले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यसैगरी आफ्नो संस्थाको कार्यसमिति रहेको व्यक्तिको कम्पनीले कालाबजारी लगायतका गैरकानूनी काम गर्दा नेपाल उद्योग बाणिज्य महासंघ पनि यस विषयमा मौन रहेको छ । आफ्नै संस्थाभित्रका उच्च तहमा बसेको व्यक्तिले संकटकालिन अवस्थामा गैरकानूनी काम गर्दा पनि केही नबोल्नुले आगामी दिनमा आम नागरिक तथा सरकारले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग बाणिज्य महासंघलाई हेर्ने दृष्टिकोण समेत नकारात्मक हुने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

पटक पटक गैरकानूनी क्रियाकलापमा संलग्न रहँदै आएको शंकर ग्रुप यसअघि पनि भ्याट छलि, कवाडि सामानबाट गुणस्तरहित रड उत्पादन गर्ने, डेडिकेटेड फिडरलाईनलगायत प्रकरणमा जोडिएको थियो । कानुनका छिद्रहरु प्रयोग गर्दै अनियमितता गर्दै आएको शंकर समुहले यसअघि २०६८ मा भ्याट छलि गरेर सीआईपी सम्मान गुमाएको थियो भने अहिले अवैताविन वाणिज्यदूतको पद गुमाउनु परेको छ । अग्रवालकै कारणले सरकारले सबै अवैतानिक वाणिज्यदूतहरुको तत्कालका लागि सेवा सुविधा खोसिदिएको छ निलो नम्बर प्लेटको गाडिमा झण्डा हल्लाएर हिड्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL