Logo

जनताका समस्या संबाेधन गर्न निजी क्षेत्र एकैठाउ, काेराना प्रकाेपसँग जुध्न समिति गठन

जनताका समस्या संबाेधन गर्न निजी क्षेत्र एकैठाउ, काेराना प्रकाेपसँग जुध्न समिति गठन



काठमाडौं । लकडाउनका समयमा राष्ट्र र सरकारलाई सहयोग गर्न तथा आपूर्तिलगायत विषयमा जनताका समस्या समाधान गर्न उद्योगव्यवसायीले प्रतिबद्धता जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड र विभिन्न उद्योग व्यवसायीबीच राज्यमन्त्रीकै कार्यकक्षमा बुधबार र बिहीबार भएको छलफलमा उनीहरुले लकडाउनका समयमा गरीब, विपन्न तथा मजदूर आदिका समस्या समाधान गर्न आफूहरु दृढ भएको प्रतिबद्धता व्यक्त गरेका हुन ।

देशमा आवश्यक औषधिलगायत उपचारका उपकरण व्यवस्थापन गर्ने, गरीब, निमुखा तथा संकटमा परेका जनतालाई खाद्यान्न र अन्य सामग्री सुलभ व्यवस्थापन गर्ने, खाद्यान्न तथा अत्यावश्यक वस्तुको उत्पादन, आयात तथा आपूर्तिलाई सहजीकरण गर्ने विषयमा छलफल भएको राज्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आर्थिक क्षेत्रमा पर्न सक्ने सम्भावित असरबारे अध्ययन गरी त्यसको निराकरण गर्न सम्बन्धित निकायसँग छलफल गरी सल्लाहसुझाव दिने तथा नेपाल सरकारको अधीनमा रही सरकारको निर्देशनानुसार समन्वयकारी र सहयोगी भूमिका निर्वाह गर्ने विषयमा समेत छलफल भएको सचिवालयले जानकारी दिएको छ ।

उद्योगव्यवसायीले यस समयमा सरकारलाई सहयोग र सल्लाह दिन बुद्धिजीवी, मिडिया, नागरिक समाज र जनतालाई आह्वान समेत गरिसकेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी सरकारले गरेको लकडाउनका समयलाई सम्बोधन गर्नका लागि उद्योग व्यवसायीहरुको एक समिति शुक्रबार गठन गर्ने भएको छ ।

छलफलमा उद्योगव्यवसायी पवनकुमार गोलियान, सतीशकुमार मोर, शेखर गोल्छा, निर्वाण चौधरी, सुलभ अग्रवाल, प्रदीपकुमार श्रेष्ठलगायतका सहभागि रहेका थिए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL