Logo

दाना–कुश्मा प्रसारण लाइन तथा सवस्टेसन निर्माणको काम अन्तिम चरणमा, कुलमानले गरे अवलोकन

दाना–कुश्मा प्रसारण लाइन तथा सवस्टेसन निर्माणको काम अन्तिम चरणमा, कुलमानले गरे अवलोकन



काठमाडौं । जलविद्युत र प्रसारण लाइन आयोजनाको काममा सोचेजति प्रगति हुन नसकेपछि नेपाल विद्युतप्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु गरेका छन ।

laxmi

गत शनिबार त्रिशूली करिडोरका आयोजनाको अवस्था हेरेर समस्या समाधानको पहल लिएका घिसिङले अघिल्लो साता माथिल्लो तामाकोशी जलविद्युतआयोजनाको गति र मतिको बारेमा जानकारी लिएका थिए । घिसिङ फागुपूर्णिमाको बिदाको दिन अर्को महत्वपूर्ण आयोजनाको स्थलगत निरीक्षणका लागि कालीगण्डकी करिडोर पुगेका छन ।

सो करिडोरको २२० केभी प्रसारण लाइनअन्तरगत म्याग्दीको दानाबाट पर्वतको कुश्मासम्मको खण्ड आगामी वैशाखभित्रमा सञ्चालनमा आउने तयारी भइरहेको सन्दर्भमा घिसिङ आयोजनास्थल पुगेका हुन । कूल ३९ किलोमिटर दाना–कुश्मा २२० केभी प्रसारण लाइन तथा दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सवस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रसारण लाइन र सवस्टेसन आगामी वैशाखभित्र चार्ज गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दाना–कुश्मा खण्डमा पर्ने १० टावरमध्ये दुई मात्रै खडा गर्न बाँकी छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयवासीको अवरोधले दुई टावर खडा गर्न रोकिएको काम सहमति जुटेपछि धमाधम भइरहेको प्राधिकरणले जानकारी दिएको छ । पोखरीबगर र कुुश्मा नगरपालिकाको पाँगामा गरी करिब दुई किलोमिटर मात्रै तार टाँग्न बाँकी छ । दुवै सवस्टेसनमा उपकरण जडान भइसकेका छन ।

सोही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युतआयोजनाको विद्युतजोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको विद्युत दाना सवस्टेसनमा जोडिने छ । नेपाल विद्युतप्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालसहितको टोलीले सोमबार प्रसारण लाइन, सवस्टेसन र जलविद्युतआयोजनाको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको प्राधिकरणले जानकारी दिएको छ ।

टोलीले प्रसारण लाइन निर्माणमा पोखरीबगर र कुश्मामा हुनसक्ने सम्भावित अवरोध हटाउन आवश्यक व्यवस्था गरिदिन म्याग्दी र पर्वतका प्रमुख जिल्ला अधिकारीलाई अनुरोधसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय महत्वको आयोजनाको टावर रहने जग्गाको मुआब्जा, लाइनको दायाँबायाँको क्षतिपूर्ति निर्धारण र निर्माण सम्पन्न गर्न आवश्यक परेमा सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।

टोलीले निर्माणमा खटिएका आयोजना व्यवस्थापन र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग छलफल गरी निर्माणमा देखिएका समस्याका बारेमा छलफल गरेको छ । यस्तै, सवस्टेसन तथा लाइन चार्ज गर्ने मितिलगायतका विषयमा छलफल गरी वैशाखभित्रमा काम सक्न निर्देशन दिएको हो । घिसिङले भने, ‘प्रसारण लाइन र सवस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने मिस्त्री खोलाको विद्युतजोड्न नसकी खेर फाल्नुपर्ने अवस्था छ, त्यस्तो अवस्था आउन नदिन सबै पक्ष गम्भीर र जिम्मेवार भएर बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छौं ।’

जतिसक्दो काम छिटो सम्पन्न गर्नुपर्ने र विद्युतखेर फालेर हर्जना तिर्नुपर्ने अवस्था आएमा यसको मूल्य ठेकेदार कम्पनीले तिर्नुपर्ने घिसिङको भनाइ छ । उनले भने, ‘केही ठाउँमा निर्माणमा भइरहेको अवरोध हटाएर काम गर्न साइट उपलब्ध उराउँछौं, ठेकेदार कम्पनी निर्माणमा गम्भीर भएर लाग्नुपर्छ ।’ ठेकेदार कम्पनीले वैशाखभित्रमा लाइन तथा सवस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ ।

मिस्त्री खोला जलविद्युतआयोजनाको विद्युतगृहमा केही उपकरणको जडान, संरचना र उपकरणको ड्राइ तथा वेट टेष्ट बाँकी नै रहेकाले अझै विद्युतउत्पादन गर्न कम्तीमा पनि दुई महिना लाग्ने छ । उनले उक्त समयसम्म प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आइसक्ने बताए । अब प्रसारण लाइन पूर्वाधार तयार भइसकेकाले त्यहाँ विद्युतजडान गर्ने गरी विद्युतखरिद बिक्री सम्झौता गरेका आयोजनाहरुले पनि निर्माण तत्काल शुरु गर्नुपर्नेछ ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युतआयोजनाहरुको विद्युतप्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तरगत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सवस्टेसन) सम्मको प्रसारण लाइनको निर्माण जारी छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL