Logo

‘मास्क’को सर्टेज भएसँगै नेपालमै उत्पादन गर्दै आईएमएस ग्रूप, मंगलबारदेखि हप्ताको ५ लाख थान बजारमा पठाउने

‘मास्क’को सर्टेज भएसँगै नेपालमै उत्पादन गर्दै आईएमएस ग्रूप, मंगलबारदेखि हप्ताको ५ लाख थान बजारमा पठाउने


बिजखबर संवाददाता
6.1k
Shares

काठमाडौं । आईएमएस ग्रूपले अबका दिनमा आफैले मास्क उत्पादन गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि मास्कको सर्टेज तथा कालाबजारी बढेसँगै आईएमएस ग्रूपले मास्क उत्पादन गरेर बजारमा उपलब्ध गराउन लागेको हो ।

व्यापारीक हिसावले भन्दा पनि राज्यलाई सहयोग गर्ने उद्देश्य अनुरुप सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो कम्पनीले मास्क उत्पादन गरेर बजारमा उपलब्ध गराउन लागेको आईएमएस ग्रूपका अध्यक्ष दिपक मल्होत्राले जानकारी दिए । ‘हाम्रो कम्पनीले नेपाल चेम्बर अफ कमर्ससँग सहकार्य गरेर बजारमा मास्क उपलब्ध गराउन लागेको छ,’ चेम्बरका उपाध्यक्ष समेत रहेका मलहोत्राले बिजखबरसँग भने, ‘हामीले मास्क उत्पादनका लागि चाहिने मेशिनदेखि कच्चा पदार्थसमेत ल्याईसकेका छौं मंगलबारदेखि उत्पादन सुरु गरेर बजारमा पठाउनेछौं ।’

आफुले नेपाल चेम्बर र सरकारसँग सहकार्य गरेर मास्क उत्पादन गर्न लागेको मलहोत्राले जानकारी दिए । ‘मास्क उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा सरकारले भन्सार छुट दिने भएको भने हाम्रो कम्पनीबाट उत्पादित मास्क बजारमा पठाउन चेम्बरले सहयोग गर्नेछ,’ उनले भने, ‘तर, कम्पनीबाट उत्पादित मास्क जनतासमक्ष सस्तो र सहज रुपमा कसरी पठाउने भन्ने विषयमा चेम्बरसँग छलफल गरेर टुङ्गो लगाउनेछौं ।’

केही दिनअघिसम्म बजारमा प्रतिगोटा ५ रुपैयाँमा पाहिने मास्क सर्टेज भएको भन्दै व्यापारीले प्रतिगोटा २५ रुपैयाँसम्ममा बिक्री गर्न थालेका छन् भने बजारमा पाईन समेत छाडेको छ । पछिल्लो समय कोरोनाको प्रभाव बढेसँगै बजारमा माक्स र स्यानिटाइजरको सर्टेज गराएर कालाबजार भइरहेको सम्बद्ध सरोकारवालाहरुले बताउँदै आएका छन् ।

पछिल्लो समय बजारमा भएको मास्क को सर्टेज हटाएर कालाबजारी रोक्नकै लागि आफुहरुले तत्काल मेशिन ल्याएर उत्पादन सुरु गर्न लागेको मलहोत्राले जानकारी दिए । ‘कम्पनीको सामाजिक उत्तरदायित्व तथा सरकारलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्न हाम्रो कम्पनीले चेम्बरको सहकार्यमा परल मूल्यभन्दा सस्तोमा बजारमा मास्क उपलब्ध गराउनेछ,’ उनले भने, ‘अहिले सबै लागत हिसाव गर्दा एउटा मास्क को मूल्य ७ रुपैयाँ पर्न आएको छ तर हामीले सोभन्दा पनि कम मूल्यमा बजारमा उपलब्ध गराउने तयारी गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL