Logo

कालीगण्डकी जलविद्युतगृह ३ दिन बन्द हुने, यस्तो छ कारण

कालीगण्डकी जलविद्युतगृह ३ दिन बन्द हुने, यस्तो छ कारण



काठमाडौं । कालीगण्डकी जलविद्युत आयोजना दैनिक २० घण्टा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि ३ दिन २० घण्टा बन्द हुने भएको हो ।

laxmi

विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेबाट विद्युत उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो । दैनिक औसत ५८ मेगावाट विद्युत उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत केन्द्र मर्मतका लागि सोमबार साँझ ५ बजेसम्म बन्द हुने आयोजनाले जानकारी दिएको छ ।

स्याङ्जाको मिर्मीमा रहेको विद्युतगृहमा ४८/४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत उत्पादन बन्द भएको हो । मुलुककै ठूलो विद्युतगृहबाट विद्युत उत्पादन बन्द भएपछि पश्चिमभेगका औद्योगिक ग्राहकको साँझको समयमा विद्युत आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन ।

कार्यकारी निर्देशक घिसिङले विद्युत आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको विदालाई ध्यान दिएर मर्मत सुरु गरिएको बताए । उनले भने, ‘विदाको दिन विद्युत्को माग (लोड) कम हुने भएकाले विदाको दिन पारेर मर्मत गर्दैछौं, खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युतगृहबाट पनि विद्युत् उत्पादन केही बढेको छ, आमउपभोक्तालाई विद्युत् आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोवस्ती गरेका छौं, तर बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत् कटौती हुनसक्छ ।’

बिहीबार राति १० बजेबाट सुरुङमा रहेको पानी खाली गराउन सुरु गरिएको र यो काम शुक्रबार राति १० बजेसम्ममा सकिने विद्युतगृहका प्रमुख पशुपतिराज गौतमले जानकारी दिएका छन । गौतमले भने, ‘त्यसपछि मर्मत सुरु हुन्छ र सोमबार साँझ ५ बजेभित्रमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ २४ सै घण्टा काम गरिरहेका छौैं ।’ हाल उक्त मर्मतका लागि ३७ जना प्राविधिकहरु खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL