Logo

लगानीका सम्भावना खोज्न अमेरिकाको टोली पोखरामा, नेपाल–अमेरिका संयुक्त लगानीबारे छलफल

लगानीका सम्भावना खोज्न अमेरिकाको टोली पोखरामा, नेपाल–अमेरिका संयुक्त लगानीबारे छलफल



काठमाडौं । गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकाको एक टोली पोखरा आएको छ । अमेरिकाको वासिङ्टनमा स्थापना भएको नेपाल विकास संघ (नेपाल डेभलपमेन्ट कन्सोर्टियम) को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मङ्गलबार पोखराका उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल विकास संघको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा नेपाल विकास संघका संस्थापक सदस्य देवदत्त दासले संयुक्त लगानीका लागि तयार रहन र सम्भावनाका क्षेत्र पहिचान गर्न पोखराका उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको केही समयअघि भएको वासिङ्टन भ्रमण र उनको निम्तोमा त्यहाँका गभर्नर नेपाल आउन लागेको जानकारी दिँदै उनले विभिन्न क्षेत्रमा लगानीको सम्झौता हुनसक्ने बताएका हुन ।

‘गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग राम्रो योजना छ, यहाँ क्यान्सर अस्पताल, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गर्न सकिने सम्भावना छ’, उनले भने, ‘सियाटलमा साना हिमाल छन, त्यहाँ प्रशस्त स्किरिसोर्ट खोलिएका छन, यहाँको मनाङ र मुस्ताङमा पनि त्यो सम्भावना छ ।’ कार्यक्रममा सो संस्थाका अर्का संस्थापक सदस्य मूर्ति कालकोराले व्यवसाय सफल हुन उत्पादनको अनुपात, योजना, योग्य कामदारको छनोट, व्यवस्थापन र आफ्नो उत्पादनसँग त्यहाँको संस्कृतिबारे जानकार हुनुपर्ने बताएका थिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले वासिङ्टनका गभर्नरको भ्रमणको बेला आउने लगानीकर्तासँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन । उनले द्विपक्षीय लगानीले नेपाली उद्योगी–व्यवसायीले सञ्चालन गर्ने उद्योग–व्यवसायको दायरा बढ्ने विश्वास समेत व्यक्त गरेका छन । संघका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले नेपालमा धेरै सम्भावना भएको बताउँदै पूँजी र प्रविधि भित्र्याउन सके यहाँबाट राम्रो मुनाफा कमाउन सक्ने बताए । त्यसतै संघका महासचिव अर्जुन पोखरेलले लगानीका क्षेत्र पहिचान गरी सहकार्यको हात बढाउन व्यवसायीसँग आग्रह गरेका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL