Logo

प्रधानमन्त्रीद्धारा २५ व्यवसायीलाई सिआइपी सम्मान प्रदान, बिमानस्थलमा भिआइपी कक्षसहित पाउनेछन् ६ सुविधा

प्रधानमन्त्रीद्धारा २५ व्यवसायीलाई सिआइपी सम्मान प्रदान, बिमानस्थलमा भिआइपी कक्षसहित पाउनेछन् ६ सुविधा



काठमाडौं । मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न १३ विधाका २५ व्यवसायी ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) बाट सम्मानित भएका छन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित ‘व्यावसायिक व्यक्ति सम्मान तथा सुशोभन कार्यक्रम’ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ती व्यवसायीलाई सिआइपी सम्मान प्रदान गरेका हुन । गत कात्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले मुलुकको निर्यात क्षेत्रमा उल्लेखनीय योगदान गरेका निर्यातकर्ता, लगानीकर्ता र रोजगारदातालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।

तेस्रो मुलुकतर्फ निकासी रकमका आधारमा सबैभन्दा बढी वस्तु निकासी गर्ने रामचन्द्र संघाइ (धागो), दोर्जे ग्याल्जेन लामा (ऊनी गलैँचा), राहुलमान शाक्य (तयारी पोशाक), सूर्यकुमार गुरुङ (पश्मिना सल) र रविन श्रेष्ठ (ऊनी फेल्ट) लाई सो सम्मान प्रदान गरेका छन ।

chandra dhakal cip samman

यस्तै भारततर्फ रकमका आधारमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता÷उद्योगीतर्फ हरकिरत सिंह वेदी, दिव्यराज सापकोटा र युक्ति गोल्छा र चीनतर्फको पेम्बा दोर्जे शेर्पा, विश्वराज बस्नेत र मछिन्द्र पाण्डे रहेका छन ।

नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्र्याउने निकासीकर्तातर्फ गोपीप्रसाद कँडेल र वाणिज्य नीति, २०७२ र नेपाल व्यापार एकीकृत रणनीति, २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु र जडीबुटीजन्य वस्तुको सबैभन्दा बढी निर्यात गर्ने सुजनकुमार श्रेष्ठ तथा निर्वाणकुमार चौधरीले सो सम्मान प्राप्त गरेका छन ।

सम्मान प्राप्त गर्नेमा निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी निर्यात गर्ने महिला निर्यातकर्ता राजलक्ष्मी गोल्छा, सफ्टवेर निर्यातमा प्रथम स्थान हासिल गर्ने दिपेश प्रधान र सबैभन्दा बढी लगानी गर्ने उत्पादनमुलक उद्योग होङ्सी शिवम् सिमेन्टका लीऊ शु कुवाङ, सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने पवनकुमार गोल्यान र बैंकिङ प्रणालीमार्फत सबैभन्दा बढी विप्रेषण भित्र्याउने आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन ।

त्यसतै पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायी सुरेशलाल श्रेष्ठ (तारागाउँ रिजेन्सी होटल), सबैभन्दा बढी निकासी गर्ने युवा उद्यामीतर्फ सुनिता शेर्पा र अक्षय गोल्याणले पनि सो सम्मान प्राप्त गरेका छन ।

निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी मुलुकको आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याउने निजी क्षेत्रका अध्यक्षलाई पनि मानार्थ सम्मान प्रदान गरिएका छन । मानार्थ सम्मान पाउनेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर रहेका छन ।

सम्मान पाउनेको ६ सुविधा

सिआइपी सम्मानबाट सम्मानति हुनेले विभिन्न ६ प्रकारका सुविधा प्राप्त गर्नेछन् । सो सम्मानबाट विभूषित हुनेले महत्वपूर्ण व्यवसायिक व्यक्तिको परिचयपत्र, सिआइपी लोगो तथा प्रमाणपत्र पाउनेछन् ।

सम्मान प्राप्त गर्ने व्यक्तिले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री तथा वरिष्ठ सरकारी पदाधिकारीसँग औपचारिक भेटघाट गर्ने अग्राधिकार प्राप्त गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले बताए ।

यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा रहेको ‘सिआइपी लाउन्ज’ र नेपालको अन्य विमानस्थलमा रहेको विशिष्ट व्यक्तिको लागि राखिएको ‘भिआइपी’ कक्षको सुविधा प्राप्त गर्नेछन् । सरकारी तथा निजी क्षेत्रले आयोजना गर्ने उद्योग, वाणिज्य क्षेत्रका सबै समारोहमा प्राथमिकतका साथ आमन्त्रण र आसनको व्यवस्था हुनेछ ।

विदेशमा आयोजना हुने व्यापारिक तथा औद्योगिक मेला एवं प्रदर्शनीमा प्रतिनिधित्व गर्न प्राथमिकता पाउनेछन् । यस्तै सार्क क्षेत्रका मुलुकको भ्रमणका लागि ‘सार्क भिषा’ उपलब्ध गराउन सिफारिश प्राप्त गर्नेछन् । सिआइपी सम्मानद्वारा विभूसित हुनेले अन्य सरकारी निकायसँगको समन्वयमा अन्य सो सुविधा समेत प्राप्त गर्ने अर्यालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL