Logo

१३६ वर्ष पुरानो चिया कारखाना जीर्ण बन्दै, ७ चिया बगान भारतको संघाई ग्रुपलाई

१३६ वर्ष पुरानो चिया कारखाना जीर्ण बन्दै, ७ चिया बगान भारतको संघाई ग्रुपलाई



काठमाडौं । इलामको माई नगरपालिकामा रहेको १ सय ३६ बर्ष पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो । सोक्तिममा विसं १९२२ मा चिया रोप्न सुरु गरिएको थियो । विसं १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन सुरु गरिएको सो कारखाना अहिले खण्डहर बनेको छ ।

नेपाली चियाको इतिहाससँग जोडिएको चिया बगान र कारखाना निजीकरण गरिएसँगै खण्डहर बनेको हो । इलामको माई नगरपालिका–९ मा रहेको कारखाना निजीकरणसँगै प्रशोधनको काम अहिले हुन छाडेको छ । तत्कालीन बडाहाकिम गजराजसिंह थापाले विसं १९२२ मा सोक्तिममा चियाखेती सुरु गरेका थिए । इलाम चिया बगानभन्दा दुई वर्षमात्रै पछि खेती गरिएको बगानमा रहेको कारखाना निजीकरणपछि प्रशोधन गर्ने मेसिन अन्तै लगे पछि प्रशोधनको काम रोकिएको थियो ।

आधुनिक चिया प्रशोधन गर्ने सदरमुकामको कारखाना देशकै पहिलो कारखाना हो । दोस्रो चिया कारखानाका रुपमा रहेको माई नगरपालिकाको सोक्तिम चिया कारखाना स्याहार नहुँदा जीर्ण बन्दै गएको हो । १ सय ३६ वर्ष पुरानो सोक्तिम बगानका चियाको बुट्टाको गुणस्तरीय मुना दिए पनि कारखाना बन्द गर्दा चियाको इतिहास नै संकटमा परेको माई नगरपालिका वडा न ९ का वडाध्यक्ष लीलाकुमार राईले बताए ।

उनले पहिला नै सम्झौता गरेर निजी क्षेत्रलाई दिएकाले नगरपालिकाले सञ्चालन गर्न कठिनाइ भएको बताए । इलाम र झापामा रहेका ७ वटा सरकारी चिया बगान सरकारले भारतको संघाई ग्रुपलाई भाडामा दिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL