Logo

एफएनसिसीआईको आयोजनामा ‘युवा प्रोत्साहन’ कार्यक्रम, स्वदेशमै काम गर्ने वातावरण बनाईदिन युवाहरुको माग

एफएनसिसीआईको आयोजनामा ‘युवा प्रोत्साहन’ कार्यक्रम, स्वदेशमै काम गर्ने वातावरण बनाईदिन युवाहरुको माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) द्वारा पोखरामा आयोजना गरिएको मुलुक निर्माणमा युवाहरूलाई प्रोत्साहन विषयक एक दिने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालले युवाहरूको प्रभावकारी परिचालनमार्फत मुलुकको आर्थिक–सामाजिक विकास गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि सरकारको विशेष नीति ल्याउनु पर्ने र स्वदेशमै काम गर्ने वातावरण बनाई दिनुपर्ने युवाहरुको धारणा रहेको छ ।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्यालाई युवाको परिभाषा भित्र समेटिएको छ भने कूल जनसंख्यामा यो उमेर समूहको हिस्सा ४० प्रतिशत भन्दा बढी रहेको छ । यो उमेर समूह भनेको उर्जाशील, काम गर्ने अत्यधिक जांगर भएको वर्ग भएकाले विना कुनै विलम्व युवा परिचालनमा सरकारको विशेष ध्यान जानुपर्ने युवाहरुको सुझाव रहेको छ ।

सरकारले यूथ भिजन २०२० पारित गरी सकेको र भिजन २०२० मा उल्लेख गरिए अनुसार यूवाहरू प्रतिस्पर्धी, स्वाबलम्वी समेतहुंदा हरेक क्षेत्रमा उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वदायी भूमिका दिनेतर्फ सरकारको विशेष जोड दिनु पर्ने बिज्ञहरुले बताएका छन । महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ र पूर्व मिस नेपालहरूको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

भर्खर उद्यम व्यवसाय थालेका, व्यवसायिक क्षेत्रमा सफलता हासिल गरेका र पोखरास्थित विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू, उद्यमी व्यवसायीलगायत ५ सय जनाको सहभागिता रहेको महासंघले जानकारी दिएको छ । कार्यक्रममा सहभागी यूवाहरूले सरकारले अगाडी सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल बनाउन मुलुकभित्र यूवाहरूलाई काम गर्ने वातावरण बनाउनु पर्ने, यूवाहरूलाई आवश्यक तालीम, पूंजीको ब्यवस्था गरिदिन सरकारसँग माग गरेका छन ।

यूवासंग सम्बन्धित सरकारका नीति तथा कार्यक्रमहरूका वारे जानकारी गराउने, उद्यम व्यवसायका विषयमा अनुभव आदान प्रदान गर्ने, यूवाहरूमा सकारात्मक सोंचको विकास गर्ने, मुलुकभित्र उद्योग व्यवसाय संचालनका क्रममा देखा परेका समस्या एवं चुनौतीहरूको पहिचान गर्दै त्यसको समाधानका उपायहरू पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघले जानकारी दिएको छ ।

कार्यक्रममा यूवा र अर्थतन्त्र, यूवाहरूमा देखिन सकिने नैराश्यताको निराकरण, व्यक्तित्व विकास, सामाजिक अपराध र निराकरणमा यूवाहरूको भूमिकालगायतका कार्यक्रममा भाग लिँदै सहभागीहरूले यूवाहरूलाई नेपालको विकासको महत्वपूर्ण आधारका रूपमा हेरिएकाले यो अवसरलाई समयमै सदुपयोग गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन ।

कार्यक्रममा महासंघको सामाजिक सेवा फोरमका सभापति जय सिवाकोटीले यूवाहरूमा रहेको सम्भाव्यताको उजागर गर्दै मुलुकको आर्थिक विकासमा यूवा समुदायलाई अभिप्रेरित गराउन कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्दै महासंघले यस्ता कार्यक्रम आगामी दिनमा बा“की प्रदेशहरूमा पनि लैजाने बताए । कार्यक्रममा महासंघको गण्डकी प्रदेशका अध्यक्ष संजीववहादुर कोइराला र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले यूवाहरूनै मुलुकको समृद्धिको आधार रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल सुन्दरीहरू प्रिती सिटौला, माल्विका सुव्वा, सदिक्षा श्रेष्ठ, जेनिसा मोक्तान, इभाना मानन्धर, मलिना जोशी, सुविन लिम्वु, नेशनल युथ काउन्सिलका कार्यकारि उपाध्यक्ष माधव ढुंगेल, विज्ञ कंचन राउत, सामाजिक अभियन्ता उज्जवल थापा, पोखरा विश्वविद्यालयका पूर्व डीन डा. दीपक भण्डारी, यूवा तथा खेलकूदल मन्त्रालयका सह–सचिव महेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL