Logo

सरकारलाई शेखर गोल्छाको आग्रह, ‘नेपालको निजी क्षेत्र इमान्दार छन्, हामीलाई विश्वास गर्नुस’

सरकारलाई शेखर गोल्छाको आग्रह, ‘नेपालको निजी क्षेत्र इमान्दार छन्, हामीलाई विश्वास गर्नुस’


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको निजीक्षेत्र ईमान्दार भएको बताएका छन । ६८ औं अन्तरराष्ट्रिय भन्सार दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजस्वको हिसावले नेपालको निजीक्षेत्र ईमान्दार भएको बताएका हुन ।

‘हामी कर तिर्न चाहान्छौं, हामी भन्सार तिर्न चाहान्छौं तर हामीलाई अविश्वास गरिएको हो जस्तो लाग्छ,’ उनले भने, ‘केही साथीहरुले कानुनविपरित काम गरेका होलान तर ९० प्रतिशतभन्दा बढी व्यवसायी कर तिरेर राज्यलाई विकसित भएको हेर्न चाहान्छन् ।’

अर्थमन्त्रालयका राजस्व सचिव शिसिर ढुङ्गाना सहभागी उक्त अन्तरक्रिया कार्यक्रममा उनले व्यवसायीलाई विश्वास गरिदिन आग्रह गरेका छन ।

सरकारले न्युन विजकिकरणलाई रोक्ने कानुन ल्याएमा आफुले स्वागत गर्ने तर सन्दर्भ मूल्यलाई राजस्वको लक्ष्य प्राप्तीको औजारको रुपमा लिइएको भए त्यसलाई मान्न नसकिने उनको भनाई थियो ।

नेपाललाई गुणस्तरहिन बस्तुहरुको डम्पीङ यार्ड बन्न नदिन सरकारसँग माग गरेका छन । विभिन्न देशबाट गुणस्तरहित वस्तुहरुको डम्पीङ यार्डको रुपमा नेपाल बन्दै गएको बताउँदै उनले यस्ता कार्यहरु निश्क्रिय गर्नुपर्ने बताएका हुन ।

नेपालमा अवैद मोबाईलको आयात रोक्नका लागि समेत सकेसम्म चाँडो काम गर्ने सरकारसमक्ष उनले आग्रह गरेका छन । उनले आईएमईआई नंबर दर्ता गर्नेगरी सफ्टवेयर निर्माणको काम चाँडो टुङगो लगाई अवैध मोबाईल आयातलाई निरुत्साहन गर्न आग्रह गरेका हुन ।

कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरुले कच्चा पदार्थ आयात लगायतका आयातित बस्तुहरुको आया सहजिकरणका लागि जोड गरेका थिए ।

यस्तै व्यवसायीले भन्सार कार्यालय तथा नाकाहरुमा व्यवसायीलाई अपराधीको जस्तो व्यवहार गर्ने गरिएको बताएका छन । ‘हामीलाई भन्सारका कर्मचारीले नै अपराधीको जस्तो व्यवहार गरिहेका हुन्छन,’ एक उद्योगीले भने, ‘हामीलाई यस्तो ब्यवहार कहिलेसम्म ?’

उद्योगी व्यवसायीहरुले बाहिरबाट आउने सामानलाई निरुत्साहित गरी स्वदेशी उत्पादनलाई जोड दिन समेत आग्रह गरेका थिए ।

कार्यक्रममा व्यवसायीका प्रतिक्रियाको जवाफ दिँदै राजस्व सचिव ढुङगानाले नेपालका विभिन्न कानुन तथा नीति नियमहरु व्यवसाय मैत्री भएको बताए । केही नीति नियमहरुले व्यवसायीहरुलाई अप्ठ्यारो पारिरहेको अवस्थामा भने त्यस्ता नीतिलाई सुधार्ने बाटोतिर लाग्ने बताए । व्यवासायीहरुले समेत राम्रा कुरालाई राम्रो र नराम्रो कुरालाई नराम्रा भनिदिने बानी बसाल्न उनले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL