Logo

पहिलो महिनामै वैदेशिक व्यापार उत्साहजनक, निर्यात बढ्यो आयात घट्यो

पहिलो महिनामै वैदेशिक व्यापार उत्साहजनक, निर्यात बढ्यो आयात घट्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना वैदेशिक व्यापारमा उत्साह छाएको छ । सँधैजसो आयातमा उच्च वृद्धि र निर्यातमा गिरावट आईरहको नेपाली अर्थतन्त्रमा चालु आर्थिक बर्षको पहिलो महिना भने उल्टो भएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको पहिलो महिना निर्यातको वृद्धिदर बढ्नुका साथै आयातको वृद्धिदर भने ११ दशमलव ५ प्रतिशतले ओरालो लागेको छ ।
गत आर्थिक बर्षको पहिलो महिना आयातमा ५४ दशमलव ३ प्रतिशतले वृद्धि भई कुल १ खर्ब २० अर्ब ६१ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको थियो । चालु आवको सोही अवधिमा आयातमा ११ दशमलव ५ प्रतिशतको गिरावट आउँदा जम्मा १ खर्ब ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको हो ।

यस्तै चालु आर्थिक बर्षको पहिलो महिना नेपालबाट बाहिरिने बस्तुको वृद्धिदर गत आवको सोही अवधिको तुलनामा २७ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष भने नेपालबाट बाहिरिने वस्तुको निर्यात वृद्धिदर जम्मा ३ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । चालु आवको पहिलो महिना कुल ८ अर्ब ८४ करोड रुपैयाँको बस्तु निर्यात भएको छ । यस्तै गत आवको पहिलो महिना ६ अर्ब ९२ करोड रुपैयाँको बस्तु निर्यात भएको थियो ।

यस्तै व्यापारघाटा समेत चालु आवको पहिलो महिना गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ९ प्रतिशतले घटेको छ । तथ्याङ्क अनुसार गत आबका कुल बस्तु व्यापारघाटा १ खर्ब १३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा व्यापारघाटा ९७ अर्ब ८९ करोड कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL